सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई विचार निर्माण गर्ने र राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन् । मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा बोल्दै उनले भण्डारीका राजनीतिक चुनौतीहरूको विश्लेषण, व्याख्या र समाधान प्रस्तुत गर्ने शैलीलाई जीवन्त अभिलेखका रूपमा पुस्तकमा समेटिएको उल्लेख गरिन् । उनले भनिन्, ‘मदन भण्डारीले आफ्नो समयमा चुनौतीहरुलाई कसरी आत्मसात गर्नुभयो, तिनको कसरी विश्लेषण र व्याख्या गर्नुभयो तथा समाधानका उपायहरु जनतासमक्ष कसरी प्रस्तुत गर्नुभयो भन्ने कुराको जीवन्त अभिलेख यो पुस्तकमा समेटिएको छ । ’ भण्डारी सामान्य राजनीतिक नेता मात्र नभई विचार निर्माण गर्ने चिन्तक तथा सिद्धान्तकारसमेत भएको भन्दै उनले जनताको आकांक्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता भएको धारणा राखिन् । उनले भनिन्, ‘जननेता मदनभण्डारी सामान्य राजनीतिक नेता मात्र नभइ विचार निर्माण गर्ने नेता हुनुहुन्थ्यो । उहाँ राजनीतिक आन्दोलनलाई सुदृढ, सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक एवम् विचारक पनि हुनुहुन्थ्यो ।’ पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी सञ्चारको शक्ति, जनमतको महत्व र विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञका रूपमा परिचित रहेको पनि बताइन् । उनले भनिन्, ‘जनताको आकांक्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता पनि हुनुहुन्थ्यो । साथै उहाँ संचारको शक्ति, जनमतको महत्व तथा विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो ।’