सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री

शनिबार, जेठ ९, २०८३

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपरेको बताएका छन् । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रुपमा रहेको रेडियो सगरमाथाको ३० औं वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रभित्र वास्तविक आवश्यकता भएका संस्थाले राज्यको सहयोग नपाउने तर केही संस्थाले दुरुपयोग गरिरहेको अवस्थाबारे पर्याप्त आवाज नउठेको टिप्पणीसमेत गरे । ‘पाउनुपर्ने मिडियाले सहयोग पाइरहेका छैनन्, तर नपाउनुपर्नेले दुरुपयोग गरिरहेका छन् भन्ने विषयमा सञ्चार क्षेत्रबाट बलियो आवाज उठ्न सकेन,’ उनले भने । उनले श्रमजीवी पत्रकार, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्र तथा सरोकारवालाले समेत यस विषयमा पर्याप्त अध्ययन, अनुसन्धान तथा बहस नगरेको धारणा राखे । सरकारी स्रोत जनताको करबाट संकलित हुने भएकाले त्यसको उपयोग पारदर्शी, उत्तरदायी र जनहितमुखी हुनुपर्नेमा मन्त्री तिमिल्सिनाले जोड दिए । त्यस्तै लोककल्याणकारी विज्ञापनमार्फत राज्यले सञ्चार क्षेत्रलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उनले हरेक वर्ष करिब ३० करोड रुपैयाँभन्दा बढी रकम यस शीर्षकमा खर्च हुने गरेको जानकारी दिए । उनले अहिलेको मिडिया परिदृश्य केही अलमलिएको, बाटो बिराइएको र असन्तुलित जस्तो देखिएको टिप्पणी गर्दै जनताको हितमा काम गर्ने सञ्चारमाध्यमले मात्रै राज्यको सहयोग पाउनुपर्ने बताए । त्यसका लागि सञ्चार क्षेत्रबाट सुझाव, सहकार्य र सुधारका लागि रचनात्मक बहस आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार