तराईका भूभागमा अत्यधिक गर्मी 

तातो लहर चल्न सक्ने भन्दै सतर्क रहन आह्वान 
शनिबार, जेठ ९, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा अत्यधिक गर्मी बढेकाले सतर्कता अपनाउन सूचित गरेको छ । यी क्षेत्रमा अस्ति ६ गते देखि नै अत्यधिक गर्मी बढेको विभागले जनाएको छ । यहाँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको भन्दै विभागले सतर्कता अपनाउन सर्वसाधारणमा अपिल गरेहो हो ।  सुदुरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम  ३८ डिग्री सेल्सियस  भन्दा माथि मापन गरिएको छ ।  देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन पनि विभागले आह्वान गरेको छ ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागहरूमा आगामी ३ दिन सम्म मध्यम तातो लहर तथा पहाडी भू–भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ ।  अध्याधिक गर्मीबाट प्रभावित जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ तथा  बैतडी, डडेलधुरा,अछाम,  सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची,  रुपन्देही र कपिलवस्तु रहेका छन् । तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउनु हुन अनुरोध छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , चर्को घाममा  बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा ) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागले अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार