मधेश प्रदेश सरकारमा नेकपा एमालेको ‘सरप्राइज इन्ट्री’

शुक्रबार, जेठ ८, २०८३

जनकपुर । मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरिरहँदा बिहीबार अबेर राति नेकपा एमालेबाट मोहम्मद समिरलाई बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी गराइएको छ । विश्वासको मत लिनु केही घण्टाअघि मात्रै एमालेको सरकारमा भएको यो प्रवेशले सत्ता समीकरण पूर्णतः फेरिने संकेत गरेको छ । नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार एमालेबाट थप ३ जना मन्त्री सरकारमा सहभागी हुनेछन् । उनले मोहम्मद समिरले आजै शपथ ग्रहण गर्ने र अन्य तीन मन्त्रीलाई साँझसम्म शपथ गराउने तयारी रहेको जानकारी दिए। उनका अनुसार एमालेले चारवटा मन्त्रालय पाउने सहमति भएको छ। उनले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार एमाले सरकारमा सहभागी भएको प्रस्ट पारे। साथै, उनले जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने दाबी गरे। तर, हिजो मात्रै जसपा नेपालको संसदीय दलको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने भन्दै ह्वीप जारी गरिसकेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने जसपा नेपाललाई पनि सँगै लिएर अघि बढ्ने प्रयास गरिरहेको बुझिएको छ । प्रदेशसभामा जसपा नेपालका २६, नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपा (माओवादी केन्द्र) का १३, जनमत पार्टीका १२, तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सदस्य छन् । कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) गरी ६० र जसपा नेपालको समर्थनसमेत जोड्दा मुख्यमन्त्री यादवले करिब ८६ सांसदको विश्वासको मत पाउने देखिन्छ।

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर आफ्नै पार्टी काँग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उनी पछि हटेका थिए । विश्वासको मत लिने पूर्वसन्ध्यामा मधेशको सत्ता समीकरण पनि परिवर्तन भएको छ । जसपा नेपाललाई सरकारबाट हटाएर नेकपा एमालेलाई  भित्राएका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवले जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । यससँगै मधेशमा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी९नेकपा० को गठबन्धन बनेको छ ।  तीन दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले जसपा नेपाल र जनमतका मन्त्रीहरूलाई राजीनामा गर्न निर्देशन दिएका थिए । १०७ सदस्य प्रदेश सभामा सरकारको विश्वासको लागि ५४ सिट आवश्यक पर्छ । मधेशमा लोसपा जसपा नेपालमा एकीकरण भएर समाहित भएपछि उसको २६ सिट छ । दुईजना सांसद हाल निलम्बनमा छन् । एमालेको २४, काँग्रेस २२, नेकपाको १५ सिट छ । यसरी बनेको नवगठबन्धनको ६१ सिट पुग्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार