प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध परेका उजुरी मंगलबारदेखि अध्ययन गरिने

आइतबार, जेठ ३, २०८३

काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरीहरू आगामी मंगलबारदेखि खोल्ने तयारी गरिएको छ । संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार शनिबार साँझसम्म प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध सात वटा उजुरी दर्ता भएका छन् । उजुरी दर्ता गर्ने समय सोमबार कार्यालय समयसम्म कायम रहने जनाइएको छ । गत वैशाख २६ गते बसेको समितिको बैठकले शर्माविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गर्ने निर्णय गर्दै १० दिनको समय दिएको थियो । सचिवालयका अनुसार उजुरी विभिन्न माध्यमबाट पेश गर्न सकिने व्यवस्था गरिएको छ। हुलाक, इमेल तथा प्रत्यक्ष रूपमा सचिवालयमा पुगेर लिखित निवेदन दिन सकिनेछ । साथै समितिका सदस्यलाई खामबन्द रूपमा उजुरी बुझाउन सकिने व्यवस्था पनि गरिएको छ ।  देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत समेत उजुरी दर्ता गर्न सकिने जनाइएको छ। उजुरी पेश गर्दा विषयसँग सम्बन्धित आधार, कारण र प्रमाण स्पष्ट रूपमा उल्लेख गर्न आग्रह गरिएको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका डा। शर्माको नाम संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएपछि नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पठाइने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार