प्रधानमन्त्रीलाई हर्क साम्पाङको प्रश्न, 'आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुन्छ ?'

बिहीबार, वैशाख ३१, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह मर्यादा र परम्परा विपरीत गएको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा छलफल भइरहेका बेला प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको छलफलमा ध्यान नदिएको गुनासो गरे । साम्पाङका अनुसार प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा छलफल नसुनेको तर पछि वा लाइभमार्फत सुन्ने अवस्था संसदको परम्परा र मर्यादाविपरीत हो । उनले संसदमा उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने भन्दै ‘आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन् ’ भन्दै कटाक्ष गरे । उनले भने,‘जीवन सिकाइ हो । हरेक पल हामीले सुनिरहनुपर्छ । अरूले के भन्छन्, हामीले सिकिरहनुपर्छ । महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा सरकार प्रमुख, जसले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले हामीलाई सुनिरहनुभएको छैन । उहाँले लाइभमा सुनिरहनुभएको छ । अथवा भरे सुन्नुहुन्छ भन्ने कुरा पनि होला । तर यो संसदको मर्यादाविपरीत छ । संसदको परम्पराविपरीत पनि छ । उहाँले छलफलमा सुन्नुभएन, तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । यदी उहाँ आउनुहुन्न भने श्रम संस्कृति पार्टी बाहिरिने छौं । एउटा सामाजिक परम्परा छ नि, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन ।’

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार