सोसल मिडिया
Contact Us
युनिकोड
गोरखा । गोरखा भूकम्पले क्षति पु¥याएको नेपालकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारको पुनःनिर्माणको काम शुरु भएको तीन वर्ष पूरा भइसक्यो । राष्ट्रिय पुरातत्व विभागले गएको विसं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेर दरबार पुनःनिर्माणको काम अघि बढाएको थियो तर निर्धारित समयमा दरबारको पुनःनिर्माण पूरा हुन सकेन । पुरातत्व विभागले पुनः २०७७ को जेठभित्र निर्माण सक्ने गरी ठेकेदार कम्पनीलाई पहिलो पटक म्याद थप गरिदियो तर पनि काम सम्पन्न गरेन । फेरि गएको मङ्सिर मसान्तसम्म अन्तिम पटक भन्दै म्याद थप भए पनि अझैसम्म दरबार पुनःनिर्माणको काम लगभग आधा जसो बाँकी नै छ । दरबारको पहिलो तल्लामा गारो लगाउने काम सकिएको र अहिले दलान राख्ने काम भइरहेको छ । ‘यही गतिमा दरबार पुनःनिर्माण हुने हो भने अझै कहिले दरबार निर्माणको काम सम्पन्न हुन्छ भन्ने यकिन छैन’, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले भने, ‘पुनःनिर्माणको गति अत्यन्तै सुस्त छ, पटकपटक म्याद थप गरी गएको मङ्सिरभित्र निर्माण सम्पन्न हुनुपर्ने दरबार अझै निर्माण हुन सकेको छैन ।’ ठेकेदार कम्पनीसँग पुरातत्व विभागले थप गरेको अन्तिम पटकको समयसीमा भने सकिएको छ । अहिलेसम्म दरबारको जगदेखि भूइँतलासम्मको काम सम्पन्न गरी पहिलो तलाको काम अन्तिम चरणमा पुगेको छ । पहिलो तलामा पाखा दलिन, टुँडालहरू राख्ने काम भइरहेको छ । दोस्रो तलाको पूरै काम बाँकी छ, त्यसपछि दरबारको बरण्डा, झ्यालहरू तथा छाना राखेर छानामा झिंगटी राख्ने काम हुन्छ । अन्यत्र भएका कामको अनुभवका आधारमा हेर्दा अझै पनि ठेकेदार कम्पनीले नियमित आवश्यक जनशक्तिको प्रयोग गरी काम गरे पनि अझै आउने तीन÷चार महिनाअघि दरबार पुनःनिर्माण सम्पन्न हुनसक्ने अवस्था छैन । थपिएको म्याद सकिएपछि पुनःम्याद थप गर्ने वा ठेकेदार कम्पनीलाई कारवाही गरेर अघि बढ्ने भन्नेमा पनि कुनै निर्णय भएको छैन । अन्तिम पटक भनिएको समय सकिएको छ अहिले काम भने नियमित भइरहेको छ । तीन वर्षमा दरबार पुनःनिर्माणको काम करिब ६५ प्रतिशत मात्र सकिएको छ । पुरातत्व विभागले दरबार नभत्काउँदै गरेको पुनःनिर्माणको डिजाइन र भत्काइसकेपछि संरचना हेरेर डिजाइन परिवर्तन गर्नुपर्दा छ महिना जति ढिलाइ भयो । त्यसपछिका दिनमा ठेकेदार कम्पनीले आफूले लिएको जिम्मेवारीप्रति उदासिनता देखाएका कारणले नै पुनःनिर्माण कार्य ढिलासुस्ती हुँदै गएको हो ।
रङ्ग महल र कालिका मन्दिर पनि बनेन मूल दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा भूकम्पले क्षति पु¥याएका गोरखा दरबारभित्र रहेका अन्य ऐतिहासिक र धार्मिक संरचना निर्माणको कामसमेत अन्योलमा परेको छ । मूल दरबार निर्माण नभई अन्य संरचना भत्काउँदा त्यहाँ हुने सांस्कृतिक गतिविधि असर पर्ने हुँदा अन्य संरचना निर्माणको काम अघि बढेको छैन । रङ्गमहल र कालिका मन्दिरको संरक्षणको काम दरबार पुनःनिर्माणपछि मात्र अगाडि बढ्ने र हाल लागत अनुमान र नक्साङ्कनको काम भइरहेको छ । भूकम्पले क्षति पु¥याएका कालिका मन्दिर र रङमहलमा आउदो चैत महिनाभित्र पानी चुहिने छानामा जस्ता राखेर भए पनि पानी चुहिने समस्याको समाधान गर्न प्रयास भइरहेको छ । त्यहाँ मन्दिरमा आउने भक्तजन तथा पर्यटकलाई असर नपर्ने गरी काम गर्ने तयारी भइरहेको छ । दरबार भत्काएर यसरी नै ढिलासुस्ती गर्नुभन्दा रेट्रोेफिटिङ प्रविधिबाट पनि जान सकिने गरी छलफल भइरहेको छ ।
दरबार नबन्दा नियमित पूजामा समेत कठिनाइ दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा मन्दिरमा नियमित नित्य पूजामा समेत कठिनाइ भएको मन्दिरका पुजारीहरू बताउँछन् । विभिन्न कारण देखाएर दरबार निर्माण समयमा नहुँदा मन्दिरसम्म सजिलै भक्तजन आउनसक्ने अवस्थासमेत छैन, कालिका मन्दिरका पुजारी शम्भु अर्यालले भने, ‘भक्तजनको गुनासो आफूहरूले सुन्नुपरेको छ, तर दिने जवाफ केही हुँदैन ।’ यसअघि मन्दिरमा आउने भक्तजनहरूले परिसरमा बस्ने, रातबसेर समेत पूजाआजा गर्ने गरेको भए पनि अहिले दरबार पुनःनिर्माण नहुँदा त्यो अवस्था छैन । समयमा पुनःनिर्माण नहुँदा नकारात्मक सन्देश गइरहेको छ । सकेसम्म छिटो निर्माण गर्न पहल गर्नुपर्छ, अब सबैले चासो दिनु आवश्यक छ । भूकम्प गएको यति लामो समयसम्म पनि किन दरबार निर्माण नभएको भनेर भक्तजन तथा पर्यटकहरूले प्रश्न सोध्ने गरेको पुजारी अर्याल बताउँछन् ।
छिटो बनोस् भन्ने भक्तजनहरूको चाहना दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा दरबार हेर्न पुग्ने पर्यटक तथा पूजाआजाका लागि पुग्ने भक्तजन भने निरास भएर फर्कने गरेका छन् । ‘समयमा दरबार पुनःनिर्माण नहुँदा हामीलाई आउनलाई पनि दरबार बनेको छैन, राम्रो छैन भनेर सोच्नुपर्ने अवस्था छ’, उनीहरूको भनाइ छ । मनमा दरबार छिटो बने हुन्थ्यो भन्ने अनुभूति हुने गरेको भए पनि भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि दरबार पुनःनिर्माण हुन नसक्नु दुःखद् भएको यहाँ आउने भक्तालु बताउँछन् ।
ठेकेदारको लापरवाहीले ढिला भएको स्थानीयको आरोप
यता स्थानीवासीले भने ठेकेदारको लापरवाहीले गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ भएको बताउछन् । यो ठेकदारको लापरवाही हो, गोरखा नगरपालिका वडा नं ६ का स्थानीयवासी मिलन लामाले भने, ‘जति समयमा काम गर्छु भनेर सम्झौता ग¥यो त्यो नगरेको देखिन्छ, गरेको काम पनि त्यति राम्रो भएको देखिँदैन’, उनले भने । दरबार पुनःनिर्माणका क्रममा अनुगमन गर्ने निकायले नियमित चासो दिन नसक्दा पनि पुनःनिर्माणमा ढिलाइ भएको हो । पुनःनिर्माणमा ढिलाइ हँुदा दरबारको अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा समेत कमी आउन थालेको छ । त्यस्तै मन्दिरमा पूजा सामग्री बिक्री गरेर जीविकोपार्जन गर्दै आएका साना व्यवसायीसमेत विस्थापित हुनुपर्ने अवस्था पुगेको छ ।
चैतसम्म निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीको दाबी
निर्माण व्यवसायी कम्पनीका सवइञ्जिनीयर अक्सर अलिमियाँले भने पाखा दलिन राखेको एक महिनाभित्रमा दरबारको दोस्रो तल्लामा गारो लगाउने काम सक्ने दाबी गर्छन् । यो वर्षको अन्त्यसम्ममा दरबार पुनःनिर्माणको काम सम्पन्न गर्ने लक्ष्य आफूहरूको रहेको उनको भनाइ छ । अहिले दरबारको परम्परागत झ्याल ढोका निर्माणका लागि ६ जना काठको काम गर्ने दक्ष जनशक्तिले अहिले नियमित काम गरिरहेका छन् । राष्ट्रिय पुरातत्व विभागबाट दरबार पुनःनिर्माणमा खटिएका इञ्जिनीयर नारायण बोहोराले सकेसम्म कमीकमजोरी हुन नदिन लागिपरेको बताए । दरबार पुनःनिर्माणको शुरु गर्ने चरणमा डिजाइन परिवर्तन गर्दा समय खेर गएको भए पनि ठेकेदार कम्पनीलाई दुई पटकसम्म म्याद थप गर्दा समेत दरबार बनाउन नसक्नु उसको कमजोरी हो । राष्ट्रिय पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । पुनःनिर्माणको काम शुरु भएदेखि अहिलेसम्म पटकपटक कहिले कामदारको अभाव त कहिले सामान ढुवानीको समस्यालगायतका कारण देखाउँदै काम रोकिने गरेको छ । पुनःनिर्माणका लागि दरबार भत्काउने बेलादेखि नै कामदार आउने र काम छोडेर जाने गरेकाले पनि निर्माणमा ढिलाइ भएको हो । पुरातत्व विभागले २०७६ पुस महिनाभित्रमा दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा रामशाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब रु चार करोड ३७ लाखमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पु¥याउनुभएका तत्कालीन राजा पृथ्वी नारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पामा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर छ भने गोरखकाली मन्दिरको तलतिर गुफामा गोरखनाथको मन्दिरसमेत रहेको छ । भूकम्पले भत्काएको गोरखनाथको गुफा भने यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।–रासस