सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । बिपी राजमार्ग अन्तर्गतको सिन्धुलीको खुर्कोटदेखि काभ्रेको भकुण्डेबेँसीसम्मको सडक खण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपीमा रोक लगाइएको जनाएको छ । सो समयको यात्रामा जोखिम हुने भएको भन्दै प्रशासनले यातायात सञ्चालनमा रोक लगाएको हो । सो अवधि बाहेक पनि पानी पर्ने बित्तिकै रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने काभ्रे प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ । सोमबार राति रोशीखोलामा आएको बाढीमा ५ वटा माइक्रो बस र बसमा सवार ८९ जना यात्रुहरू फसेका थिए । ती सवारी साधन र यात्रीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरबाहीपूर्ण तरिकाले यात्रुहरूको जिउ धनलाई समेत खतरा पु¥याई सवारी चलाएको भन्दै ती ५ वटा माइक्रोबसका ५ जना चालकहरूलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ । बर्सातको समयमा बिपी राजमार्ग भई यात्रा गर्दा जहिले पनि सूचना वा पूर्व जानकारी लिएर र प्रहरीको सुझावलाई समेत आत्मसात् गरी यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक अनुरोध समेत गरेको छ । गएको वर्षामा रोशीखोलाले बगाएको बिपी राजमार्ग पुनर्निर्माण नहुँदा खोलाबाटै यातायात सञ्चालन हुँदै आएको छ । खोलामा बाढी आउने बित्तिकै सडक अवरुद्ध हुने गरेको छ ।