रोल्पा जीप दुर्घटनाले सिंगो राष्ट्रलाई शोकमग्न बनाएको छ : प्रधानमन्त्री कार्यालय

शनिबार, वैशाख १९, २०८३

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रोल्पामा भएको जीप दुर्घटनाले सिंगो राष्ट्रलाई शोकमग्न बनाएको बताएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भयावह जीप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति समग्र राष्ट्रलाई स्तब्ध बनाएको बताएका हुन् ।  ‘वैशाख १७ गते दिउँसो करिब २ः५० बजे रोल्पाको थवाङ गाउँपालिका–१, सल्यानमा २० जना नागरिकको ज्यान जाने गरी भएको जीप दुर्घटनाले सिंगो राष्ट्रलाई शोकमग्न बनाएको छ, यस हृदयविदारक दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दाहरूको सक्रियतामा तत्काल उद्धारलाई तीव्रता दिइएको थियो’ विज्ञप्तिमा भनिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडक दुर्घटनालाई अत्यन्त गम्भीर विषयका रूपमा लिँदै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक नीतिगत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ । सडक सुरक्षा प्रणाली सुदृढ बनाउन सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै प्रभावकारी कदम चालिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

image-10-543x768-1777713991.png
 

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार