संसद् स्थगित गरी अध्यादेश ल्याउनु उपयुक्त होइन : काँग्रेस

सोमबार, वैशाख १४, २०८३

काठमाडौं । नेपाली काँग्रेसले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन ल्याउने तयारीलाई उपयुक्त तथा मर्यादित कदम नभएको जनाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता देवराज चालिसेले कानुन निर्माण प्रक्रिया संसद्मार्फत पारदर्शी ढंगले अघि बढ्नुपर्ने बताए ।  उनले सरकारबाट अधिवेशन आह्वान गरिसकेपछि पुनः पर्याप्त जानकारीबिनै संसद् स्थगित गरिएको अवस्था देखिएको उल्लेख गर्दै एकातर्फ संसद् बोलाउने र अर्कोतर्फ त्यसलाई निष्क्रिय बनाएर अध्यादेशको बाटो रोज्नु उचित नहुने धारणा राखे । प्रवक्ता चालिसेले यस्ता कदमले सरकारलाई दीर्घकालीन रूपमा सहजता नदिने पनि बताएका छन्। उनका अनुसार जनप्रतिनिधिको थलो संसद्मा खुला छलफलमार्फत विषय टुंग्याइनु लोकतान्त्रिक अभ्यास अनुकूल हुने बताए । काँग्रेसले बोलाइएको संसद् स्थगित गरेर अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइए त्यसप्रति असहमति रहने स्पष्ट गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार