काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर

थापाथलीका टहरा भत्काएर गैरीगाउँ पुगे सुरक्षाकर्मी

शनिबार, वैशाख १२, २०८३

काठमाडौं । सरकारले काठमाडौंका नदी किनारामा रहेका सुकुम्बासी बस्ती र अव्यवस्थित घर टहरा हटाउने क्रममा थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराएर टहराहरू भत्काएको अधिकारीहरूले बताएका छन् । काठमाडौं महानगरीय प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले थापाथलीमा टहराहरू हटाउने कार्य सकिएको र आफूहरूसहितको टोलीले गैरिगाउँ क्षेत्रमा अनधिकृत संरचना हटाउन काम थालेको बताए । उनले भने, ‘थापाथलीमा अझै पनि हाम्रो टोलीले सामानहरू सार्नलाई सहजीकरण गरिरहेको छ। त्यहाँबाट सरकारले उपलब्ध गराउने अस्थायी आवासमा जाने इच्छा २० जनजातिले देखाउनुभएको छ।’ प्रधानमन्त्रीको सचिवालयले थापाथलीमा बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको जनाएको छ । साथै परिवार भेला नभएका ८ जना दशरथ रङ्गशालामा बसिरहेको सचिवालयले प्रेषित गरेको सन्देशमा उल्लेख छ । शनिवार र आइतवार गरेर थापाथली, गैरीगाउँ र मनहरा क्षेत्रका ‘अनाधिकृत’ बस्ती हटाउन लागिएको सरकारले बताएको छ । त्यहाँ कति घरधुरीको बसोबास छ भन्ने यकिन आँकडा आएको छैन तर आफ्नो कदमले सार्वजनिक जग्गाहरू फिर्ता हुने र ‘सक्कली’ र ‘नक्कली’ सुकुम्बासी पहिचान हुने अधिकारीहरूले बताएका छन् । सरकारी निर्णयप्रति कतिपय अधिकारवादी संस्थाहरूले विरोध जनाइरहेका छन् । शुक्रवार राष्ट्रिय मानवअधिकार आयोगले सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिने क्रममा अत्यधिक बलको प्रयोग नगर्न र संयमित हुन सरकारलाई निर्देशन दिएको थियो।

सरकारले कसरी खाली गराउँदै छ सुकुम्बासी बस्ती
अनाधिकृत बस्ती हटाउनका लागि झन्डै चार देखि पाँच हजार सुरक्षाकर्मी र कर्मचारीहरू परिचालन गरिएको बताएको छ । अधिकारीहरूले त्यहाँबाट हटाइएका परिवारहरूको लगत सङ्कलन गरिने र अस्थायी वासस्थानमा पुर्‍याइने बताएका छन् । अधिकारीहरूका अनुसार तीनमध्ये दुई ठाउँका बस्तीहरू हटाउन बिहानैबाट सुरक्षाकर्मी, कर्मचारी, स्वास्थ्यकर्मी सहितका टोलीहरू खटिएका छन् । सामान उठाउनका लागि प्रयोग गरिने ट्रकहरू देखि ती वस्तीका विस्थापितहरूलाई सुरुमा दशरथ रङ्गशाला र त्यहाँबाट अस्थायी होल्डिङ सेन्टरहरूमा पुर्‍याउने ट्रकहरू र टहराहरू भत्काउनका लागि डोजरसहितका सवारी साधन त्यहाँ परिचालन गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कतिपय परिवारलाई सामानहरू सार्न सुरक्षाकर्मीहरूले सघाइरहेको बताए । उनले भने, ‘हामीले ८ः १५ बजेदेखि थापाथलीबाट हाम्रो काम सुरु गरेका छौँ । मानव अधिकारको उच्च सम्मान गर्दै यी कामहरू अघि बढाउने हामीले तारतम्य मिलाएका छौँ। सुरक्षाकर्मीहरूले माइकिङ गर्दै हरेक घरमा वृद्ध वृद्धाहरू अपाङ्गता भएका व्यक्तिहरू, बालबच्चाहरू भए नभएको यकिन समेत गर्ने गरी काम भइरहेको छ ।’ ‘अग्र भागमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरका माइकिङ टोलीका तीनवटा गाडीहरू छन् । सामान सार्नुपर्ने छ भने त्यसो गर्न सरकारी ट्रक र केही भाडामा ल्याइएका ट्रकहरूको व्यवस्थापन गरिएको छ र दोस्रो लहरमा राखिएको छ । त्यसपछि सिंहदरबारमा रहेका नौ वटा कर्मचारी बसहरूलाई उहाँहरूको स्वेच्छाले सुरक्षित स्थानमा लगिदैँछ । ट्रक र बसहरू पछाडि एम्बुलेन्स छ र कसैलाई अस्पताल लैजानु परेको खण्डमा त्यहाँ पुर्‍याइनेछ।’ उनले बस्तीहरूबाट हटाइएका मानिसहरूलाई सुरुमा दशरथ रङ्गशालामा लगिने र त्यहाँ विवरण सङ्कलन गरेर सरकारले तोकेको ‘होल्डिङ सेन्टरहरू’मा पुर्‍याइने बताए ।
पौडेल थप्छन्, ‘म अब सरकारको शरणमा जान चाहान्छु, यसपछाडिको मेरो व्यवस्थापन सरकारले गरिदिनुपर्‍यो भनिएका घर परिवारका व्यक्तिहरूलाई अहिले पहिलो चरणमा सुरक्षित आश्रय स्थलमा लगिनेछ । त्यहाँबाट अल्पकालीन आवास क्षेत्रहरूमा लगिनेछ । त्यसपछि दीर्घकालीन व्यवस्थापन गरिनेछ ।’ शनिवार साँझसम्म दुईवटा बस्तीलाई खाली बनाउने योजना राखिएको स्थानीय अधिकारीहरूले उल्लेख गरेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकाय र काठमाण्डू महानगरले गरेको सार्वजनिक आह्वानपछि दुईवटा नदी किनारामा बस्ने झन्डै ५० देखि ६० प्रतिशतले शुक्रवार साँझसम्म नै ती ठाउँ छाडेको बताए ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ुमानवीय संवेदनाका आधारमाु तत्कालका लागि पाँच स्थानमा पुनर्स्थापनाको बाटो खोलिएको उल्लेख गर्दै त्यसका लागि नागार्जुनका ४२ वटा व्यवस्थित आवास युनिट, कीर्तीपुरको सत्सङ्गको भवन, बोडेको कृषि विकास बैंकको तलिम केन्द्र र खरिपाटी र चाँदबागमा रहेका सरकारी भवन र खाली जग्गामा उनीहरूलाई व्यवस्थापन गरिने जनाएको छ ।
सरकारले बस्तीबाट हटाइने व्यक्तिहरूका लागि शनिवार र आइतबार खानेकुराको प्रबन्ध गर्ने पनि जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार