संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

सोमबार, वैशाख ७, २०८३

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले आज ३ वटा उपसमिति गठन गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको यस समितिको बैठकले संघीयता सबलीकरण उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमिति र सामाजिक न्याय उपसमितिको गठन गरेको हो । समितिकी सभापति जयन्ती राईले बैठकले महत्वपूर्ण निष्कर्ष निकालेको बताइन् । उनका अनुसार आज गठन भएको संघीयता सबलीकरण उपसमितिमा सांसद श्रीकृष्णप्रसाद अधिकारी संयोजक रहेका छन् भने सदस्यमा सांसद उदयबहादुर बोहरा, सांसद किरणबाबु श्रेष्ठ र सांसद सोनाम गेल्जेन शेर्पा रहेका छन्। यस उपसमितिको कार्यक्षेत्र राज्यका तहगत संरचनाबीच समन्वय गर्ने रहेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिमा सांसद विष्णुकुमारी सापकोटा संयोजक रहेकी छन्। सदस्यमा सांसद नारायणदत्त मिश्र, सांसद दुर्गाकुमारी गुरुङ र सांसद ललितजंग शाही रहेको सभापति राईले जानकारी दिइन् । उनका अनुसार सामाजिक न्याय उपसमितिमा सांसद रोशनी मेचे संयोजक रहेकी छन् भने सदस्यमा सांसद धमेन्द्र पासवान र सांसद मनरुपा शर्मा रहेका छन् । यस उपसमितिमा पछि थप सदस्यसमेत समावेश गरिने सभापति राईले जानकारी दिइन् । राईका अनुसार समितिका कार्यक्षेत्र अन्तर्गत स्थलगत अध्ययन, अनुगमन तथा तहगत विषयमा छलफल गर्न कार्ययोजना बनाइँदैछ । आगामी १० गते विपद् व्यवस्थापन र साइबर बुलिङका विषयमा छलफल गर्न गृहमन्त्रीलाई पनि बोलाइने तयारी गरिएको छ । किसानका समस्याका सन्दर्भमा खेती सुरु हुनुअघि नै मल, बिउ तथा अन्य आवश्यक विषयमा समेत छलफल अघि बढाइने उनले बताइन् । ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका थुप्रै कार्यक्षेत्रहरु रहेका छन् । त्यही कार्यक्षेत्र अन्तर्गत त्यसमा स्थलगत अध्ययन, अनुगमन र तहगत विषयमा हामीले छलफल गर्नको निम्ति कार्ययोजनाहरु बनाइरहेका छौ । हामी तुरुन्तै विपद् व्यवस्थापन र साइबर बुलिङको बारेमा छलफल गर्न आगामी १० गते गृहमन्त्री पनि आउदै हुनुहुन्छ । किसानहरुको समस्याको सन्दर्भमा खेती गर्नुभन्दा अगाडि नै मल, बिउ लगायत अन्य आवश्यक विषयमा छलफल गर्न त्यो पनि काम गर्दैछौ,’ उनले भनिन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  २०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार