पार्टीलाई एकताबद्ध बनाउन कांग्रेस सभापति गगन थापाले सुरु गरे संवाद

पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष
सोमबार, वैशाख ७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाउन इतर पक्षसँग संवाद अघि बढाएका छन् । पार्टीभित्र एकताको वातावरण नबने विभाजनको चेतावनी दिएका देउवा पक्षसँग सभापति थापाले संवाद अघि बढाएका हुन् । यसक्रममा उनले आइतबार कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग परामर्श गरेका छन् । सभापति थापा नेता खड्कालाई भेटका लागि उनकै निवास पुगेका थिए । पार्टीमा देखिएको बेमेल अन्त्य गर्दै एकता कायम लागि आफूले संवाद सुरु गरेको उनले बताएका छन् । 'पार्टीको बृहत्तर एकताका लागि वरिष्ठ नेताहरूसँग संवाद अघि बढाएको छु,' थापाले भनेका छन् ।   सर्वोच्च अदालतले गत शुक्रबार कांग्रेसको आधिकारिकता विवादमा संक्षिप्त आदेश दिँदै थापा नेतृत्वको पार्टीलाई वैधानिकता दिएको थियो । त्यसपछि देउवा पक्षले सर्वोच्चको आदेश असहमतिका बीच स्वीकार गर्ने बताएको थियो । एकताको वातावरण बनाउने सम्पूर्ण जिम्मेवारी सभापति  थापाको काँधमा रहेको उनीहरूको निष्कर्ष छ । थापाले महाधिवेशन मिति समायोजन गर्दै नयाँ मिति घोषणा गर्नुपर्ने माग देउवा पक्षले अघि सारेका छन् । आइतबार बसेको उनीहरूको बैठकले यस्तो निर्णय गरेको नेता मीन विश्वकर्माले बताए । 'सभापति शेरबहादुर देउवाको कार्यसमितिले वैशाख अन्तिममा १५ औँ महाधिवेशन घोषणा गरेको थियो । अहिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले असोजको मिति ल्याएको छ ।दुवै मितिको समायोजनमार्फत नयाँ मित तय नभए दुई महाधिवेशन हुन्छ । यसले पार्टीमा विभाजन निम्त्याउँछ,' देउवा पक्षको निष्कर्षबारे नेता विश्वकर्माले भने ।  यो परिस्थिति निम्तिन नदिन सभापति थापाले मिति समायोजन गर्नैपर्ने अडान देउवा पक्षले लिएका हुन् । देउवा पक्षको उक्त निर्णय सार्वजनिक भएपछि सभापति थापा संवादका लागि खड्का निवास पुगेका हुन् । 

पार्टी एकतामा केन्द्रित हुनुपर्ने देउवा पक्षको निष्कर्ष

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् । देउवा पक्षका सचेतक श्यामकुमार घिमिरे अब पार्टीले आन्तरिक एकतालाई प्राथमिकता दिँदै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने तथा वर्तमान सभापति गगन थापाले समावेशी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘कानुनी पाटो अब सकिएको छ । राजनीतिक रुपले हामीले पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्ने आजको आवश्यकता हो । अब कानुनी लडाई सकिएको छ । अब राजनीतिक रुपले अहिलेका वर्तमान सभापति संस्थापन पक्षका गगन थापाले सबैलाई समेट्ने गरी भूमिका खेल्नुपर्छ भन्ने हो । असन्तुष्ट पक्षहरु हिजोको संस्थापन पक्षले पनि अब पार्टीलाई एकताबद्ध गरेर लैजाने बाटोमा जानुपर्छ ।’ घिमिरेले असन्तुष्ट पक्षलाई पनि एकताको प्रक्रियामा सहभागी गराउँदै पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

Purna-khadka-samiha-1776592284.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार