सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले विपद् व्यवस्थापनमा सबै तह र क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन् । आइतबार आयोजित राष्ट्रिय सिमेक्स ‘अन्त्यदेखि–अन्त प्रारम्भिक चेतावनी प्रणाली’ कार्यक्रममा बोल्दै उनले नेपाल सरकार, विभिन्न मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारसँगै निजी क्षेत्र, सामुदायिक संस्था र संघसंस्थालाई समेटेर काम भइरहेको बताए । ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैलाई समेटेर काम गर्ने भनेको छ । नेपाल सरकार, सरकारका अरु विभागहरु, मन्त्रालयहरुमात्र हैन प्रदेश सरकार, स्थानीय सरकार र सँगसँगै निजी क्षेत्र, सामूदायिक क्षेत्र, संघसंस्थाहरु सबैलाई समेटेर काम गरिरहेका छौं । अर्ली वार्डिङ फर अलको मार्गचित्र हामीले तयार गरेका छौं,’ उनले भने । उनले ‘अर्ली वार्निङ फर अल’को मार्गचित्र तयार भइसकेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघका महासचिवले नेपाललाई यस अभियानका लागि छनोट गरेकोमा आभार व्यक्त गरे । साथै, २०२७ सम्म पूरा गर्ने लक्ष्य रहेको कार्ययोजना केही ढिलाइका कारण अब २०३० सम्म पुर्याउने गरी अन्तिम चरणमा रहेको जानकारी दिए । भट्टले नेपालमा ८० प्रतिशत विपद् जोखिम मनसुनका बेला हुने भएकाले हरेक वर्ष मनसुन पूर्वतयारीलाई प्राथमिकता दिइँदै आएको बताए । गत वर्षभन्दा यस वर्ष अझ प्रभावकारी प्रतिकार्य र पूर्वतयारी गर्न सकिने विश्वास उनले व्यक्त गरे । उनले भने, ‘२०२७ सम्म पुर्याउने भनिएकोमा हामी केही ढिलो हुन गएको कारणले कार्ययोजना २०३० सम्मको लगभग अन्तिम चरणमा रहेको छ । त्यसलाई पनि यो कार्यक्रमले इनपुट दिनेछ,’ उनले थप भने, ‘जहिलेपनि हामीलाई मनसुनले बढी प्रभाव पार्छ । ८० प्रतिशतको जोखिम मनसुनको बेला हुने भएकाले नेपालले विगत लामो समयदेखि मनसुनको लागि पूर्वतयारी पूर्वकालिन काम तयार गर्ने गरेको छ । अहिले पनि हामी त्यो कार्ययोजना बनाउने चरणमा छौं। गत वर्षभन्दा यो बर्ष अझ राम्रो प्रतिकार्य र पूर्व तयारी गर्नका लागि मद्दत मिल्ने छ ।’ कार्यक्रममा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव सुरेश पन्थीले विपद् पूर्व सूचना तथा सन्देश स्थानीय तहसम्म सर्वसाधारणले बुझ्ने भाषामा पुर्याउनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय स्तरमा नेपाली भाषा प्रयोग भए पनि स्थानीय स्तरमा स्थानीय भाषाको प्रयोगलाई व्यवहारिक रूपमा अघि बढाइने बताए । ‘विपद्को समयमा अथवा विपद भन्दा अगाडि सर्वसाधरणलाई जाने म्यासेज डिसिमिनेट गर्ने गर्छौ म्यासेज डिसिमिनेट गर्दा लोकल स्तरमा सर्वसाधरणले बुझ्ने गरि गर्छौ गर्दैनौ । राष्ट्रिय स्तरमा नेपाली भाषा प्रयोग गर्छौ होला तर स्थानीय स्तरमा राष्ट्रिय भाषाले काम नगर्न सक्छ । लोकल भाषा प्रयोग गर्ने सन्दर्भमा व्यवहारिक अभ्यास गर्ने प्रयास हुनेछ,’ उनले भने ।