'नेपाल प्रथम’ अवधारणासहित सन्तुलित कूटनीति अवलम्बन गर्ने सरकारको प्रतिबद्धता

मंगलबार, वैशाख १, २०८३

काठमाडौं । सरकारले परराष्ट्र सम्बन्धलाई सन्तुलित र सक्रिय ढंगले सञ्चालन गर्ने नीति अंगीकार गर्दै राष्ट्रिय हित केन्द्रित कूटनीतिक दृष्टिकोण अघि सारेको छ । सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धतामा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्दै बदलिँदो वैश्विक परिवेशलाई अवसरका रूपमा उपयोग गर्ने लक्ष्य व्यक्त गरिएको छ । उक्त दस्तावेजमा नेपालको कूटनीतिक संयन्त्रलाई परिणाममुखी बनाउने उद्देश्यले विदेशस्थित नियोगहरूको कार्यसम्पादन मूल्यांकनका लागि वैज्ञानिक ‘परफरमेन्स अडिट’ प्रणाली लागू गर्ने योजना उल्लेख गरिएको छ । सरकारले नेपाललाई परम्परागत ‘बफर’ अवस्थाबाट बाहिर ल्याई क्षेत्रीय सहकार्य र सम्पर्क विस्तारमार्फत आर्थिक साझेदारी सुदृढ गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चमा स्वतन्त्र, तटस्थ र शान्तिप्रति प्रतिबद्ध राष्ट्रका रूपमा स्थापित गर्ने रणनीति अघि सारेको छ । यसै सन्दर्भमा कुनै पनि प्रकारका सैन्य गठबन्धनमा नजोडिने नीति पुनः दोहोर्‍याइएको छ। हतियार प्रतिस्पर्धा र युद्धले शान्तिमा असर पार्ने मान्यताका आधारमा सबै मुलुकसँग समदूरी र सन्तुलित सम्बन्ध कायम राख्ने नीति लिइने जनाइएको छ । ‘नेपाल प्रथमः नेपाली प्रथम’ भन्ने अवधारणालाई सम्पूर्ण कूटनीतिक गतिविधिको मूल आधार बनाइने उल्लेख गर्दै आर्थिक कूटनीतिलाई थप सशक्त बनाउने योजना पनि प्रस्तुत गरिएको छ । साथै, सगरमाथा संवादजस्ता अन्तर्राष्ट्रिय पहललाई निरन्तरता दिँदै जलवायु परिवर्तन, हिमाली पारिस्थितिकी संरक्षण, पर्वतीय मुद्दा तथा भूपरिवेष्टित राष्ट्रका साझा सरोकारमा नेपालको भूमिका सुदृढ गरिने बताइएको छ । विदेशमा कार्यरत नेपाली श्रमिकको अधिकार, सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार