कांग्रेसको क्रियाशील सदस्यताबारे अलमल छैन, देउवा पक्ष सीमाबाहिर जान मिल्दैन : गगन थापा

मंगलबार, वैशाख १, २०८३

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ । नयाँ वर्षको पहिलो दिन मंगलबार नेपाली कांग्रेसको ‘एक महिने जरा अभियान’ पार्टीका सभापति गगन कुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् । क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले ‘जरा अभियान’को रुपमा घोषणा गरेको छ । संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिए । अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ । पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। सभापति थापाले भने, ‘यो जरा अभियान हाम्रो उत्साह र विश्वासको नयाँ अभियान हो । अभियान अन्तर्गत हामीले राष्ट्रियतालाई सबल बनाउनका निम्ति संविधानले दिएको क्षेत्राधिकार भित्र रहेर संसदभित्र रहेका सबै दलहरुसँग सहकार्य गर्छौं । खासगरी नेपाल सरकारसँग सहकार्य गर्छौ । डेमोक्रेसीको जरा सबल बनाउनको निम्ति संसदभित्र प्रमुख प्रतिपक्षको आफ्नो भूमिका सशक्त र जिम्मेबार भएर निर्वाह गर्छौ ।’ ‘यो अभियान भनेको पार्टीको जरा बलियो बनाउने हो । जरा बलियो बनाउन वर्षभरी काम गर्नुपर्ने छ । महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिसकेका छौ । आजबाट नेपाली कांग्रेसको सदस्यता सम्बन्धि नयाँ अभियान सुरु भएको छ । यो सन्दर्भमा साथीहरुमा अलमल भएको हो की भन्ने मलाई लागेको छ । अब अलमल मान्नु पर्दैन्’ उनले स्पष्ट पारे । पार्टीले यसलाई संगठन सुदृढीकरण र अनुशासन मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ । त्यस्तै, थापाले शेर बहादुर देउवा पक्षलाई सीमाबाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन् । ‘पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ । सीमाभन्दा बाहिर गएर यसलाई सहन सक्ने कुरा हुँदैन,’ उनले भने । सबैलाई मिलाएर लैजाने आफ्नो प्रयासलाई कमजोरी नठानिदिन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार