सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै देशलाई समाजवादी रूपान्तरणतर्फ अघि बढाउन आह्वान गरेका छन् । नयाँ वर्षको सन्देश दिँदै नेता खनालले २०८२ साललाई “उथलपुथलपूर्ण वर्ष” का रूपमा उल्लेख गर्दै देश अहिले नयाँ चुनौती र सम्भावनाहरूको संघारमा उभिएको बताएका छन् । उनले देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा नवजागरण, एकता, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । खनालले २०६२–०६३ को जनआन्दोलनपछि प्राप्त उपलब्धिहरू गणतन्त्र स्थापना, संविधान निर्माण तथा वामपन्थी सरकार गठन , उल्लेख गर्दै त्यसअनुसार अपेक्षित परिवर्तन हुन नसकेको स्वीकार गरेका छन् । उनका अनुसार, त्यसपछिका सरकारहरू जनताको आधारभूत आवश्यकताहरू रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र सुरक्षाजस्ता विषयमा प्रभावकारी हुन नसक्दा जनअसन्तोष तीव्र रूपमा बढेको छ । उनले बेरोजगारी, महँगी र भ्रष्टाचारका कारण ठूलो संख्यामा नेपाली युवाहरू विदेश पलायन हुन बाध्य भएको उल्लेख गर्दै जनआक्रोशलाई देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले प्रयोग गर्न खोजेको आरोप समेत लगाएका छन् । साथै, पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र चुनावी परिणामले देशको शक्ति सन्तुलनमा ठूलो परिवर्तन आएको उनको भनाइ छ । नयाँ सरकारप्रति संकेत गर्दै खनालले जनताको आधारभूत समस्याहरू समाधान गर्ने स्पष्ट नीति र योजना नदेखिएको टिप्पणी गरेका छन् । उनले निर्वाचनलाई ‘कार्यनीतिक घटना’ मात्र भएको उल्लेख गर्दै समाजवादी क्रान्तिको दीर्घकालीन लक्ष्यबाट विचलित नहुन आग्रह गरेका छन् । उनले आफ्नै पार्टीको हारप्रति आत्मसमिक्षा आवश्यक रहेको उल्लेख गर्दै वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण र कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन्। साथै, देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूको व्यापक मोर्चा निर्माण गरी समाजवादको लक्ष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । ‘जनताको आधारभूत समस्या समाधान गर्ने एकमात्र बाटो समाजवादी रूपान्तरण नै हो,’ खनालले भनेका छन्, ‘नयाँ वर्ष २०८३ ले हामीसँग यही ऐतिहासिक जिम्मेवारीको माग गरिरहेको छ।’