संघीयतामाथि अझै चुनौती, सहकार्यबाटै समाधान खोज्न मुख्यमन्त्री कार्कीको सन्देश

मंगलबार, वैशाख १, २०८३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै संघीय शासन प्रणाली कार्यान्वयनमै अझै चुनौती रहेको बताएका छन् । केन्द्रीकृत मानसिकता कायम रहँदा प्रदेश संरचनाले अपेक्षित गति लिन नसकेको उनले जनाए । मुख्यमन्त्री कार्कीले संविधान जारी भएको एक दशकपछि पनि व्यवहारमा संघीयता मजबुत बनाउन आवश्यक प्रयास अझै अपुग रहेको बताए । यस्तो अवस्थामा सहकार्य, समन्वय र सहअस्तित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको धारणा छ । उनले प्रदेश सरकारले छोटो अवधिमा गरेका कामहरू प्रभावकारी भए पनि लोकप्रियतावादी प्रवृत्तिका कारण ती कामहरू पर्याप्त रूपमा स्थापित हुन नसकेको उल्लेख गरे । पूर्वाधार निर्माण, लगानीमैत्री वातावरण सिर्जना, उद्यमशीलता प्रवद्र्धन र पर्यटन विकासका कार्यक्रममार्फत प्रदेशले आर्थिक आधार मजबुत बनाउने प्रयास गरिरहेको उनले जनाएका छन् । सीमित स्रोत र साधनका बाबजुद पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने दिशामा प्रदेश सरकार अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले विकासका लक्ष्य हासिल गर्न सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए । नयाँ वर्षले देशमा शान्ति, स्थायित्व र समृद्धिको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार