सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली काँग्रेस भित्र पूर्व संस्थापन र विशेष महाधिवेशनपछि बनेको संस्थापन पक्षले समानान्तर गतिविधिलाई पुनः व्यूताएका छन् । क्रियाशील सदस्यता प्रकरणमा पहिलेको संस्थापन (शेरबहादुर देउवा पक्ष) र हालको गगन थापा नेतृत्वको समितिले समानान्तर गतिविधि गरेको हुन् । कार्यवाहक सभापतिको हैसियतमा काँग्रेस नेता पूर्णबहादुर खड्काले सोमबार विशेष महाधिवेशन पक्षलाई काउन्टर दिँदै ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा खारेज नहुने चेतावनी युक्त वक्तव्य जारी गरेका छन् । कांग्रेस सभापति गगनकुमार थापाले क्रियाशील सदस्यता खारेज भएको घोषणा गरेपछि पूर्णबहादुर खड्काले आपत्ति जनाएका हुन् । कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गर्दै खड्काले पार्टी सदस्यता कुनै नेताको आवेग, उत्तेजना, लहडमा भाषणमार्फत खारेज हुन नसक्ने बताएका हुन् । खड्काले भनेका छन् ‘निर्दलीय निरंकुस पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिवन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन’। पार्टीको सदस्यता कुनै नेताको हारजितसँग नभएर नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नगारिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका शहीद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको उनको जिकिर छ । कांग्रेस सभापति थापाले चैत २५ मा मधेस प्रदेशमा आयोजित चुनावी समीक्षा कार्यक्रममा सदस्यता खारेज भएको घोषणा गरेका थिए।
पूर्णबहादुरको चेतावनीयुक्त विज्ञप्तिलगत्तै कांग्रेसले डाक्यो अनुशासन समितिको बैठक कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । यही बुधबार बिहान ११ बजे पार्टी मुख्यालयमा बैठक बस्ने सचिव दिनेश थापामगरले जानकारी दिएका छन् । यसअघि आजै पूर्णबहादुर खड्काले कावा सभापतिकै हैसियतमा विज्ञप्ति निकाल्दै १५ औँ महाधिवेशनका लागि वितरण र नवीकरण भइसकेका क्रियाशील सदस्यता खारेज गरिएको र पुनस्नयाँ सदस्यता लिने निर्णयमा आपत्ति जनाएका थिए । खड्काले कुनै नेताले आवेग वा उत्तेजनामा भाषण गरेकै भरमा सदस्यता खारेज हुन नसक्ने भन्दै पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न गगन पक्षलाई चेतावनी दिएका छन् । बुधबार २ बजे नै केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरी कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई जानकारी गराएका छन् ।
‘क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं’ कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेको जानकारी दिएका छन् । क्रियाशील सदस्यता खारेजीको प्रश्न उठेपछि उनले सामाजिक संजालमार्फत प्रष्टिकरण दिएका हुन् । उनले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्न लागेको जनाएका हुन् । ‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु–हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ । अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँगाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ। विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं । विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ । त्यसैले, भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरुलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरुलाई क्रियाशील सदस्यता लिन हार्दिक अनुरोध गर्दछु, पौडेलले सामाजिक सञ्जालमार्फत् धारण सार्वजनिक गर्दै भनेका छन् ।