सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । यातायात व्यवस्था कार्यालय गौरमा लामो समयदेखि जरा गाडेर बसेका बिचौलियाहरूका कारण सेवाग्राहीले भोग्नुपरेको हैरानी अब कम हुँदै गएको छ । कार्यालयले सञ्चालनमा ल्याएको ’हेल्प डेस्क’ र प्रहरीको बढ्दो निगरानीले कार्यालय परिसरलाई बिचौलियामुक्त बनाउने अभियानमा ठूलो सफलता मिलेको हो । मधेस प्रदेश प्रहरीले चलाएको विशेष अभियान अन्तर्गत यातायात र मालपोत कार्यालयहरूमा सेवाग्राहीलाई ‘छिटो काम गराइदिने’बहानामा बढी रकम असुल्ने बिचौलियाहरूलाई पक्राउ गरिएको छ। गौरस्थित यातायात कार्यालयमा पनि प्रहरीले सक्रियता बढाउँदै सेवाग्राहीलाई अनावश्यक सास्ती दिने र भ्रम फैलाउने व्यक्तिहरूलाई निगरानी बढाएको छ । कार्यालय परिसरमै स्थापित हेल्प डेस्कले अहिले सेवाग्राहीका लागि ’सहजकर्ता’ को काम गरिरहेको छ । सेवाग्राहीले कुन काम कसरी गर्ने भन्ने जानकारी सिधै डेस्कबाट पाउन थालेको कार्यलय प्रमुख अबिन्दर दासले बताए । बिचौलियालाई पैसा बुझाउनुको सट्टा डेस्कमा रहेका कर्मचारीले नै आवश्यक कागजात पुगे÷नपुगेको जाँच गरिदिने गरेको उनको भनाइ छ । दस्तुर र राजश्वका बारेमा सही जानकारी दिँदा बिचौलियाले लिने ’अतिरिक्त शुल्क’ को अन्त्य भएको छ । विगतमा बिलबुक नवीकरण, सवारी अनुमति पत्र (लाईसेन्स) को आवेदन र कर तिर्न समेत बिचौलियाको सहारा लिनुपर्ने बाध्यता थियो। कार्यालयका अनुसार अब कुनै पनि कामको लागि कार्यालय परिसर बाहिरका मानिसलाई रकम तिर्नु पर्दैन। प्रहरीले सेवाग्राहीलाई कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न र कसैले रकम मागेमा तत्काल प्रहरीको फोन गर्न आग्रह गरेको छ। हेल्प डेस्कको स्थापना र प्रहरीको सक्रियताले गौर यातायात कार्यालयमा पारदर्शी सेवाको सुरुवात भएको छ। बिचौलिया हटेसँगै सेवाग्राहीले अब विना डर र अतिरिक्त शुल्क आफ्नो काम समयमै सम्पन्न गर्न सक्ने वातावरण बनेको छ।