सोसल मिडिया
Contact Us
युनिकोड
दमक । झापाको दमक नगरपालिका–१० मा रहेको इन्द्रेणी ताल केही महिना अघिसम्म जलकुम्भी झारले भरिएको, झाडी र फोहोरले ढाकिएको अवस्थामा रहेको थियो । दमकमा यस्तो ताल पनि छ भन्ने कुरा सायदै कमैलाई थाहा थियो । स्थानीय सरकारले बजेट विनियोजन गरी व्यवस्थापन गर्न खोजे पनि दीर्घकालीन र प्रभावकारी व्यवस्थापन हुन सकेको थिएन । तर अहिलेको अवस्था भने बिल्कुलै फरक छ । हाल तालमा बर्षौंदेखि जमेर रहेको जलकुम्भी झार हटाइएको छ, वरपरको फोहोर र झाडी व्यवस्थापन गरिएको छ र वातावरण सफा तथा आकर्षक बनेको छ । यसका कारण दैनिक सयौँ पर्यटक यहाँ भित्रिने गरेका छन् । दमकमा घुम्ने स्थानको कमी थियो भन्ने गुनासोलाई इन्द्रेणी तालले धेरै हदसम्म पूरा गरिदिएको छ । अहिले दमक मात्र होइन, आसपासका क्षेत्रबाट पनि पर्यटकहरू यहाँ घुम्न आउने गरेका छन् । दिनप्रतिदिन इन्द्रेणी ताल पिकनिक स्पटको केन्द्र बन्दै गएको छ । तालको मुख्य आकर्षण मोटरेबल बोटिङ हो, जुन स्थानीय रोहित राईले सुरु गरेका थिए । उनले बोटिङ मात्र सञ्चालन गरेनन्, ताल र यसको वरपरको क्षेत्रलाई व्यवस्थापन गरी दमककै पहिचान बनाउने काम गरे । यही तालका कारण हाल ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने करिब १५ वटा साना व्यवसाय सञ्चालनमा आएका छन् । इन्द्रेणी ताल विगतमा प्राकृतिक ताल भने थिएन । यो किसानले सिँचाइका लागि प्रयोग गर्ने बाँध मात्र थियो । पछि ‘यसलाई बाँधमै सीमित नराखी अलि राम्रो बनाऔँ’ भन्ने सोचका साथ यसको नाम इन्द्रेणी ताल राखी विकासको सुरुआत गरिएको हो । उर्लाबारी–९ कि मिना खवासले बताईन । दमक मात्र नभई बाहिरी क्षेत्रका पर्यटकहरू पनि यहाँ आउने भएकाले यसको थप विकास र व्यवस्थित व्यवस्थापनमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । पहिले यो स्थान भैँसी बाँध्ने र बस्ने ठाउँ मात्र रहेको तर संरक्षण र सौन्दर्यकरणपछि पर्यटनको आकर्षणको केन्द्र बनेको स्थानिय डिकेन्द्र बस्नेतले बताए । यसलाई अझ व्यवस्थित बनाउन सके दैनिक हजारौँ पर्यटक आउने उनको भनाइ छ । इन्द्रेणी तालमा अझै पनि धेरै पक्षमा विकास र व्यवस्थापन आवश्यक देखिन्छ । स्थानीय तहमा यत्तिको मनोरञ्जनात्मक स्थान बनेकोमा खुशी व्यक्त गर्दै दमक–१० बिजय धिमालले पिकनिकका लागि आउनेहरूका लागि खानेपानी, विद्युत् लाइन र शौचालयको उचित व्यवस्था नहुँदा केही असहज भएको बताए । यस क्षेत्रको विकास र सौन्दर्यीकरणमा महत्वपूर्ण योगदान पुर्याउदै आएका रोहित राईले यहाँबाट ठूलो नाफा कमाउनेभन्दा पनि समाजसेवाको उदेश्यले लगानी गरेको बताए । सामान्य मानिसलाई बोटिङ्ग गर्दा २०० रुपैँया शुल्क लिईन्छ भने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बोटिङ गर्दा २५ रुपैयाँ शुल्क लिइन्छ , अन्य विद्यार्थीलाई १०० रुपैयाँ र ज्येष्ठ नागरिक र अपाङ्गलाई निःशुल्क बोटिङ सेवा उपलब्ध गराइने गरिएको छ । यस क्षेत्रलाई अझ विकसित र व्यवस्थित बनाउने प्रतिबद्धता उनको छ । यसरी एक समय बेवास्तामा परेको सिँचाइ बाँध आज इन्द्रेणी तालका रूपमा दमकको पहिचान बन्न सफल भएको छ । स्थानीयको सक्रियता, व्यक्तिगत लगानी र सामूहिक प्रयासले यो स्थान पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । आवश्यक पूर्वाधार, सरसफाइ र दीर्घकालीन व्यवस्थापनमा स्थानीय सरकारको थप ध्यान पुग्न सके इन्द्रेणी ताल दमक मात्र नभई पूर्वकै पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा स्थानीयको रहेको छ ।