परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल

शुक्रबार, चैत २७, २०८२

काठमाडौ‌ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच शुक्रबार दिउँसो औपचारिक भेटवार्ता सम्पन्न भएको छ । भेटका क्रममा दुवै पक्षबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयाम तथा सहकार्यका सम्भावनाबारे छलफल भएको बताइएको छ। उक्त भेटपछि भारतीय विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै छलफल फलदायी रहेको उल्लेख गरेका छन् । उनका अनुसार दुवै देशबीचको साझेदारीलाई अझ व्यापक बनाउँदै विभिन्न क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा विचार–विमर्श भएको हो । परराष्ट्रमन्त्री खनाल नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन बिहीबार मरिससतर्फ प्रस्थान गरेका हुन् ।  मरिससको राजधानी पोर्ट लुइसमा आज २७ र भोलि २८ गते हुने सम्मेलनलाई कूटनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र मरिसस सरकारको संयुक्त आयोजनामा भएको यस पटकको सम्मेलनको थिम ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ रहेको छ ।

नेपालको ‘माउन्टेन–ओसियन’ भाष्य
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार, मन्त्री खनालले सम्मेलनमा नेपालको तर्फबाट महत्वपूर्ण  भू–पारिस्थितिक एजेन्डा प्रस्तुत गर्नेछन्।  भूपरिवेष्ठित देश भए पनि नेपालले ‘हिन्द महासागरको स्वास्थ्य र शासन’मा आफ्नो चासो राख्दै आएको छ । हिमालयबाट बग्ने पानी कसरी महासागरसम्म पुग्छ र जलवायु परिवर्तनले यी दुवै क्षेत्रलाई कसरी असर गरिरहेको छ भन्ने ‘माउन्टेन–ओसियन कनेक्टिभिटी’मा खनालले प्रस्तुति दिनेछन्। नेपालको व्यापारिक मार्गका लागि समुद्री सम्पर्कको अपरिहार्यता र यस क्षेत्रको आर्थिक विकासमा नेपालको हिस्साबारे उनले राष्ट्रिय धारणा राख्नेछन् ।

साइडलाइन कूटनीति भेट
सम्मेलनका क्रममा मन्त्री खनालले आफ्ना भारतीय समकक्षी एस. जयशंकरसँग छुट्टै द्विपक्षीय भेटवार्ता गरेका छन् । पछिल्लो समय नेपाल–भारत सम्बन्धमा देखिएका सीमा, कनेक्टिभिटी र ऊर्जा व्यापारका नयाँ आयामहरूबारे ‘साइडलाइन’मा अनौपचारिक संवाद भएको छ । भुटानका विदेशमन्त्री दीनानाथ ढुंगेललगायत सहभागी सम्मेलनमा सहभागी हुनेछन् ।
परराष्ट्रका वरिष्ठ अधिकारीहरू पनि सहभागी भ्रमण टोली यही चैत ३० गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार