प्रतिनिधि सभाको बैठक बस्दै

शुक्रबार, चैत २७, २०८२

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकमा विभिन्न महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत हुनेछन् । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि संघीय संसद्को संयुक्त बैठकमा गरिएको सम्बोधनको प्रति टेबल गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, सभामुखले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकको मुख्य आकर्षणका रूपमा उपसभामुख पदको निर्वाचन रहेको छ । यसअन्तर्गत सांसद ज्ञान बहादुर शाहीले सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्, जसलाई ताहिर अली भाट, खुश्बु ओली र भरत गिरीले समर्थन गर्नेछन् । यस्तै, सांसद आरेन राईले रूबी कुमारीलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने अर्को प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावलाई अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौलाले समर्थन गर्ने कार्यसूचीमा उल्लेख छ । आजको बैठकले प्रतिनिधि सभाको नेतृत्व चयन प्रक्रियालाई अगाडि बढाउने र राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि औपचारिक प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार