सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विगतका कूटनीतिक अभ्यासलाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुधबार काठमाडौंस्थित १७ देशका राजदूतहरूलाई ‘सामूहिक शिष्टाचार भेट’ गरेका छन् । विगतमा प्रधानमन्त्रीहरूले प्रत्येक देशका राजदूतहरूलाई छुट्टाछुट्टै भेट्थे । कुनै विशषे अवस्थाका बारेमा जानकारी दिन र सहयोग माग्न परेमा ‘कूटनीतिक ब्रिफिङ’का नाममा राजदूतहरूलाई एकसाथ बोलाई सम्बोधन गर्ने गरिन्थ्यो । तर, यसपटक बालेन्द्र शाहले यसअघि भइरहेको अभ्यासलाई पछ्याएनन् । उनले सुरुमै आफूसँग भेटवार्ताको समय माग्ने सबैलाई राजदूतलाई एकसाथ भेट्ने निर्णय लिए र यसको तारतम्य मिलायो परराष्ट्र मन्त्रालयले । काठमाडौंमा रहेका २८ वटा विदेशी नियोगहरूमध्ये १७ वटा नियोगका प्रमुखहरू बुधबारको सामूहिक शिष्टाचार भेटवार्तामा सहभागी थिए । भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो । “प्रधानमन्त्रीसँग भेट गर्नको लागि विभिन्न देशका राजदूतहरूसले पत्र पठाएका थिए । भेटको लागि अनुरोध गर्ने सबैलाई एकैपटक आज बोलाइएको हो । बुधबारको सामूहिक शिष्टाचार भेटवार्तामा नेपालका लागि भारत, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, अमेरिका र संयुक्त राष्ट्रसंघका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो । सामूहिक शिष्टाचार भेटवार्ता मध्याह्न १२ बजेतिर सुरु भएको थियो । राजदूतहरू सबै आइसकेपछि प्रधानमन्त्री बालेन्द्र शाह हलमा प्रवेश गरेका थिए । त्यसपछि परराष्ट्र सचिव अमृतबहादुर राईले राजदूतहरूलाई स्वागत गरेका थिए । त्यस क्रममा परराष्ट्र सचिव राईले विदेश राजदूतहरूलाई सरकारको प्राथमिकता, खोजेको सहयोग र सद्भावका विषयमा स्पष्ट पारेका थिए । परराष्ट्र सचिवले स्वागत गरेपछि उपस्थित सबै विदेशी राजदूतहरूलाई एक–एक गरी आफ्नो परिचय दिन र आफ्नो धारणा संक्षेममा राख्न अनुरोध गरिएको थियो । सबै राजदूतहरूले आफ्नो परिचय दिने क्रममा नेपाल र उनीहरूको देशको सम्बन्धबारे प्रकाश पारेका थिए । सबैले नेपाललाई सहयोगको प्राथमिकतामा राखेको जनाएका थिए । सहयोग गर्ने भएर नै आजको भेटवार्तामा सहभागी भएको तर्क राजदूतहरूले गरेका थिए । विदेशी राजदूतहरूले नेपाल र नेपालले लिने आगामी बाटोका सम्बन्धमा निकै चासो र उत्सुकता देखाएका थिए । राजदूतहरूले आफ्नो परिचय दिइसकेपछि परराष्ट्रमन्त्री शिशिर खनालले सरकारका काम कारबाहीका विषयमा राजदूतहरूलाई जानकारी गराएका थिए । “नेपाल सरकार प्रत्यक्ष देखिने गरी काम गर्न खोजेको छ,” परराष्ट्रमन्त्री खनालले भनेका थिए । आफ्नो संक्षिप्त सम्बोधन सकिएपछि परराष्ट्रमन्त्री खनालले राजदूतहरूलाई सम्बोधन गर्न प्रधानमन्त्री शाहलाई अनुरोध गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले ४ मिनेट जतिमा आफ्नो सम्बोधन सकेका थिए । प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा सबै राजदूतहरूलाई धन्यावाद दिँदै द्विपक्षीय र बहुपक्षीय सम्बनधका बारेमा आफ्ना धारणा राखेका थिए । “साझा समृद्धिको लागि सन्तुलित र व्यावहारिक विदेश नीति हाम्रो हुनेछ,” सम्बोधनका क्रममा नेपाल सरकारको विदेश नीतिबारे प्रधानमन्त्री शाहले स्पष्ट पारेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपाली कामदारको ठूलो संख्या विदेशमा रहेको, विदेशमा ठूलो संख्यामा नेपाली डायस्पोरा रहेको जनाएका थिए । विदेशमा रहेका नेपालीको सुरक्षामा नेपाल गम्भीर रहेको उनले बताए । नेपाल सरकारको उच्च प्राथमिकतामा सुशासन र आर्थिक विकास राखेको प्रधानमन्त्री शाले जनाएका थिए । जनताको जिवनस्तर उकास्नु सरकारको लक्ष्य रहेको उनले स्पष्ट पारेका थिए । सम्बोधन गर्दा प्रधानमन्त्री शाहले आउँदा दिनमा आफूसँग भन्दा पनि द्विपक्षीय कुराहरू परराष्ट्र मन्त्रालयमा राख्न राजदूतहरूलाई संकेत गरेका थिए । “तपाईंहरूले फेरि सम्पर्क गर्न परे परराष्ट्र मन्त्रालय छ,” प्रधानमन्त्री शाहले भनेका थिए ।