भोलिदेखि धापाखेल २३ नं. वडा कार्यालय अगाडि भागवत सप्ताह 

ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माणको मुल उद्देश्य 
बुधबार, चैत २५, २०८२

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालय भवन धापाखेल अगाडिको खाली जग्गामा भोलिदेखि  स्वर्णिम श्रीमद् भागवत सप्ताह भक्ति अनुष्ठान आयोजना हुँदैछ ।  धापाखेल २३ भित्र ज्येष्ठ नागरिक दिवा सेवा भवन निर्माण तथा सञ्चालनका लागि स्थानीय संघसंस्थाहरुको अगुवाईमा उक्त अनुष्ठान आयोजना गर्न लागिएको हो ।  नयाँ वर्ष २०८३ को पावन अवसर पारी आध्यात्मिक चिन्तनद्धारा राष्ट्र शान्ति, लोक कल्याण समस्त जीवात्माहरुको सुख शान्ति एवम् समस्त ज्ञात–अज्ञात आत्माहरुको मोक्ष प्राप्ति हेतु ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण एवम् सञ्चालनार्थको पवित्र उद्देश्य राखी भोलि बिहीबार (चैत्र २६ गते) बाट बैशाख ३ जते सम्पन्न हुने गरी स्वर्णिम श्रीमद् भागवत सप्ताह भक्ति अनुष्ठान २०८२/०८३ गर्न लागिएको हो ।  ललितपुर महानगरपालिका वडा नं २३ अन्तर्गत टोल सुधार समिति, महिला समूह र विभिन्न संघसंस्थाहरूको आयोजनामा सुरु हुने भक्ति अनुष्ठानको कथाबाचन कथाब्यास आचार्य ओमप्रकाश सुवेदीले गर्नेछन् । अनुष्ठानका संकल्पकर्ता मुमुक्ष उद्ववशर्मा हुमागाई रहेका छन् । लपुमनपा २३ नं. वडा कार्यालयको सभाहलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अनुष्ठान महानगर वडा नं २३ धापाखेल कार्यालय परिसर अगाडिको खाली जग्गामा सञ्चालन हुने छ । बैशाख ३ गतेसम्म चल्ने अनुष्ठानमा पूर्वीय दर्शन अनुशरण गर्दै वैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उदेश्य रहेको संकल्पकर्ता हुमागाईले जानकारी दिए ।  भोलिदेखि सुरु हुने सप्ताह भक्ति अनुष्ठानको पहिलो दिन २६ गते बिहान ८ :३० बजे पूर्वाङगपूजा/यज्ञस्थलबाट कलश यात्रा सुरु हुनेछ । कलश यात्रा धापाखेलको प्राकृतिक दह नागदहमा पुगेर त्यहाँको जल ल्याइनेछ । उद्घाटन दिउसो १ बजे गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् ।   हरेक दिन बिहान ७ बजे पूजा, ८ बजेदेखि पाठपारायण र करिव १०ः ४५ देखि ५ः१५ बजेसम्म कथावाचन हुनेछ । त्यसैगरी प्रत्येक दिन साँझ ७ः१५ बजेसम्म दिव्य झाँकी, लीला प्रदर्शन तथा भक्ति संगीत हुने यज्ञ मूल समारोह समितिले जानकारी दिएको छ ।  समापनको दिन वैशाख ३ गते साँझ लक्ष्यदीप प्रज्वलन कार्यक्रम सामूहिक ब्रतबन्ध, विवाह, ग्रह शान्ति , तुलादान र १००८ शालिग्राम पूजा अर्चना परिक्रमा हुनेछ। सो अवसरमा देशव्यापी १ सय ८ श्रीमद्भागवत सत्संकल्प अभियाकर्ता समेत रहेका मुमुक्ष हुमागाईले आध्यात्मिक शान्तिका भक्ति अनुष्ठान कार्यक्रम आयोजना गरेको बताएका छन् । अनुष्ठानमा चढाइने भेटी, दान दक्षिणाबाट जम्मा भएको रकम जेष्ठ नागरिक दिवा केन्द्र स्थापनामा खर्चिने छ । पत्रकार सम्मेलनमा लपुमनपा २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले वडावासी सबै सहभागी भएर अनुष्ठानलाई सफल बनाउन आह्वान गरे । आफ्नो वडाले ज्येष्ठ नागरिकहरूका लागि निशुल्क औषधि वितरण, धार्मिक यात्रा, योग ध्यान शिविर जस्ता धेरै कार्यक्रम गर्दै आएको जानकारी दिँदै अनुष्ठानबाट संकलित रकमबाट ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि वडा कार्यालयले पनि सक्दै सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । यज्ञ मूल समारोह समितिका संयोजक देवकी खड्काले आफू नेपाल सरकारको पूर्व कर्मचारी भएकाले आफ्ना लागि भन्दा पनि समाजका ज्येष्ठ नागरिकहरूको सुविधाका लागि यो अनुष्ठान आयोजना गर्न लागिएको जानकारी दिइन् । यज्ञ स्थल ललितपुरको सातदोबाटोबाट करिब दुई किलोमिटर दुरीमा रहेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार