एमाले सचिवालय बैठक,

पश्चिम एशियाली देशका नेपालीको सुरक्षामा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण

शनिबार, चैत २१, २०८२

काठमाडौं । नेकपा एमालेले नेपाली सेना,कर्मचारी र कूटनीति समुदायप्रति आफ्नो पार्टीको पूर्ववत् सम्बन्ध रहेको स्पष्ट पारेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाले संसद्मा दिएको अभिव्यक्तिमा गम्भीर छलफल गर्दै यस्तो निर्णय गरेको हो । ‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ ’ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले सरकारका एक हप्ताका कामका विषयमा पनि समीक्षा गर्दै कतिपय निर्णयबाट फिर्ता हुन आग्रह गरेको छ । विद्यार्थी संगठनको खारेजी,ट्रेड युनियनको खारेजी तथा निजी क्षेत्रका सञ्चार माध्यममा तीनै तहका सरकारले विज्ञापन तथा सूचना प्रकाशन प्रसारण गर्न रोक लगाएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । ‘बैठकले वर्तमान सरकारको विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ र सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ,’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्ति पढेर सुनाउँदै उपमहासचिव लेखराज भट्टले भनेका छन् । निजी क्षेत्रका सञ्चार माध्यममा विज्ञान रोकेर प्रेसको भूमिका कमजोर पार्ने सरकारको तयारी रहेको एमालेको ठहर रहेको छ । यस सम्बन्धमा सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने सरकारको निर्णयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ र यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।’ बैठकले फागुन २१ मा भएको निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचन सफल गराउने सम्पूर्ण पक्षलाई धन्यवाद दिएको छ । यसै गरी भारी बहुमतका साथ सरकार गठन गरेकोमा प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद पनि प्रकट गरेको छ । पछिल्ला दिनमा एमालेका कार्यकर्ता खास गरी महिलाहरूप्रति लक्षित गरेर व्यापक रूपमा भइरहेको साइबर हमलाप्रति आपत्ति प्रकट गरेको छ । यस्तो अशिष्ट व्यवहारको साइबर हमलाको प्रतिवाद गर्न र कानुनी उपचार गर्न सम्पूर्ण पार्टीपंक्तीलाई एमालेले आग्रह गरेको छ । एमालेले साइबर अपराधीलाई कानुनी कारबाही गर्न सरकारसँग माग पनि गरेको छ । एमालेले पश्चिम एशियाली देशहरूमा भइरहेको युद्धका विषयमा पनि ध्यान आकर्षण भएको जनाएको छ । बैठकले स्वदेश फर्कन चाहने सबैलाई सुरक्षित तरिकाले फर्कन वातावरण बनाउन सरकारसँग माग गरेको छ

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार