असिना पानी र हावाहुरीले बालीनाली नष्ट

राहतको माग गर्दै बौधीमाई नगरपालिकाद्वारा ज्ञापनपत्र बुझाइयो
बिहीबार, चैत १९, २०८२

रौतहट । असिना पानी र हावाहुरीका कारण रौतहटको बौधीमाई नगरपालिकामा हिउँदे बालीमा व्यापक क्षति पुगेपछि नगरपालिकाले राहतका लागि पहल सुरु गरेको छ । बेमौसमी प्राकृतिक विपत्तिले किसानको बालीमा क्षति पुगेपछि नगर प्रमुख प्रदीप यादवको नेतृत्वमा टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसाललाई बुझाइएको ज्ञापनपत्रमा यस घटनालाई गम्भीर प्राकृतिक विपत्तिको रूपमा लिँदै संघीय र प्रदेश सरकारसँग तत्काल राहत तथा उचित क्षतिपूर्तिको माग गरिएको छ । ज्ञापनपत्र वाचन गर्दै नगर प्रमुख यादवले नगरपालिकाका सबै वडाहरूमा लगाइएको गहुँ, मकै, तोरी, मुसुरो, तरकारीका साथै आँप, केरा र लिची जस्ता फलफूल खेतीमा ठुलो नोक्सानी भएको जानकारी दिए । ‘यस विपत्तिले किसानको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ र खाद्य सुरक्षामा चुनौती थपेको छ,’ यादवले भने । नगरपालिकाले सरकारसँग क्षतिको यथार्थ विवरण संकलन गर्न, तत्काल राहत वितरण गर्न र दीर्घकालीन विपद् व्यवस्थापन योजना लागू गर्न जोडदार माग गरेको छ । साथै, पटक-पटक हुने यस्ता विपत्तिबाट किसानलाई जोगाउन ‘बाली बीमा’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा नगर प्रमुखले जोड दिए । ज्ञापनपत्र बुझाउने टोलीमा नगर उपप्रमुख प्रमिला देवी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू र पीडित किसानहरूको उपस्थिति थियो । चालु आर्थिक वर्षमा पटक-पटक विपत्ति भोगे पनि हालसम्म राहत नपाएको भन्दै किसानहरूले आक्रोश व्यक्त गरेका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ दिनेश सागर भुसालले जिल्ला कृषि ज्ञान केन्द्रमार्फत क्षतिको यथार्थ विवरण संकलन गराउने प्रतिवद्धता जनाए । उनले सो ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयमा पठाउने आश्वासन समेत दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार