लागू औषधसहित ९ जना पक्राउ

बुधबार, चैत १८, २०८२

काठमाडौं । झापाको भद्रपुर नगरपालिका ५ नयाँ बजारबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम १२० मिलिग्राम सहित सोही नगरपालिका ५ बसपार्क नजिकै बस्ने २६ वर्षीय स्माईल कार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७१० मिलिग्राम र नगद ६ हजार ७५० रुपैयाँसहित सोही नगरपालिका-७ नमुना टोल बस्ने २९ वर्षीय देवु शर्मा समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसै गरी बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१० नितनपुरबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम २१० मिलिग्रामसहित वीरगन्ज महानगरपालिका-२१ परवानीपुर बस्ने २५ वर्षीय अनिल साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिमरा समेतबाट खटिएको प्रहरीले वीरगन्जबाट सिमरातर्फ आउँदै गरेको इलेक्ट्रिक स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस्तै, तनहुँ आँबुखैरेनी गाउँपालिका-२ ढाप टारबाट नियन्त्रित लागू औषध डाईजेपाम १ एम्पुल, फेनारनग १ एम्पुल र बुप्रेनोर्फिन १ एम्पुलसहित गोरखा, गोरखा नगरपालिका-१० बाह्र किलो बस्ने २७ वर्षीय आमोस तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागू औषध आँबुखैरेनी गाउँपालिका-२ बगुवा बस्ने ३० वर्षीय प्रितम थापाबाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात प्रितमको घर तलासी गर्दा नियन्त्रित लागू औषध ट्राम डोल १ हजार ७ सय ट्याब्लेट, डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पर्सा वीरगन्ज महानगरपालिका-१६ बाट नियन्त्रित लागू औषध डाईजेपाम २०० एम्पुल, बुप्रेनोर्फिन २०० एम्पुल र प्रोमेथाजाइन २०० एम्पुलसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा घर भएका भारत मोतिहारी रक्सौल बस्ने २३ वर्षीया नेहा देबी ठाकुर र सोही महानगरपालिका ४ बस्ने ३२ वर्षीय केवल गोसाईं रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले मितेरी पुलबाट घण्टाघरतर्फ जाँदै गरेको बि.म.न.पा.१ ह ८३८ नम्बरको ई-रिक्सामा सवार उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो । यसै गरी सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ बाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २२ वर्षीय हरि बुढालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार