बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सकियो, प्राविधिक काम धमाधम

मंगलबार, चैत १०, २०८२

काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सम्पन्न भएपनि प्राविधिक काम बाँकी रहेको बताएका छन् । मंगलबार नयाँ संसद भवनस्थित बहुउद्देश्यीय हलको अवलोकन गर्दै उनले हालको प्राविधिक तयारी भोलि बेलुकासम्म पूरा हुने अपेक्षा गरिएको छ । उनले सुरक्षा व्यवस्थापनको काम भने सम्पन्न भइसकेको जानकारी दिए । उनले भने, ‘भौतिक पूर्वाधारको काम सकिएपनि प्राविधिक काम बाँकी छ । जुन भोली बेलुकासम्म तयार हुन्छ । सुरक्षाको व्यवस्थापनको काम पनि सकिएको छ । राम्रो र गुणस्तर सेवामा चाँही समस्या देखिएको छ । सभामुखको कुर्सी, सचिवालय स्थानदेखि सबै सानो आकारमा छ ।’
गिरीले सेवा तथा गुणस्तरका केही पक्षमा भने सुधार आवश्यक रहेको उल्लेख गरे । उनले हालका लागि अर्को विकल्प नभएको स्पष्ट पार्दै प्रतिनिधिसभाको स्थायी हल कहिले निर्माण सम्पन्न हुन्छ भन्ने निश्चित अवस्था नरहेको बताए ।
निर्माण कार्य जारी रहेकाले सांसदहरूको सपथ ग्रहण र पहिलो अधिवेशन यही बहुउद्देश्यीय हलमै सञ्चालन हुने सम्भावना रहेको उनको भनाइ छ । ‘हामीसँग अर्को विकल्प थिएन र छैन पनि । प्रतिनिधिसभाको हल कहिले बन्छ भनेर भन्न सकिने अवस्था पनि छैन् । निर्माण कार्य जारी नै छ । सपथ यही र पहिलो अधिवेशन यही नै बित्ने जस्तो देखिन्छ ।’ सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको छैटौँपटक म्याद थपेर निर्माणको काम भइरहेको छ । २१ फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सांसदले निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा विहीवार शपथ लिंदैछन् । सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने कार्यक्रम छ । केसीले २७४ सांसदलाई शपथ गराउने कार्यसूची तय भैसकेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार