नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भदौ मसान्तमा गर्न प्रस्ताव

मंगलबार, चैत १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालका प्रस्ताव गरेका छन् । मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले कार्यतालिका प्रस्ताव गरेका हुन् । सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले भदौ अन्तिम साता महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका हुन्। प्रस्तावमा चैतबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तमा सक्ने उल्लेख छ । विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ । गत पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो । यसअघि कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ मा भएको थियो। महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए ।

'कांग्रेसले देशलाई दुर्घटना, द्वन्द्व वा अतिवादमा पर्न नदिनेगरी काम गर्छ'

कांग्रेस सभापति थापाले पार्टीले निर्वाचनमा गरेको प्रतिज्ञा अनुसार नै प्रतिपक्षको भूमिका जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले मतदाताले सरकार सञ्चालन गर्न मत नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको बताएका हुन् । उनले भने, ‘हामी नागरिकहरूको बीचमा पाँच वर्ष मतको सम्मान गर्ने प्रतिबद्धता लिएर गएका थियौं । त्यो मतले सरकार सञ्चालन गर्न नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको छ, र हामी त्यस प्रतिज्ञामा बाधिएका छौं ।’ उनले सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षमा हुँदा पनि प्रतिवद्धताबाट पछि हट्न नहुने स्पष्ट पारे । ‘हामी सरकारमा हुँदा मात्र प्रतिज्ञामा बाधिने र नहुँदा नबाधिने भन्ने हुँदैन,’ उनले भने । थापाले २०८२ देखि २०८७ सम्मको अवधिमा सुशासन, विकास र सेवा प्रवाहको गति विगतभन्दा चार गुणा बढाउनुपर्ने आवश्यकता औंल्याए । साथै, उनले देशमा कुनै पनि प्रकारको अस्थिरता वा ‘दुर्घटना’ हुन नदिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताए । ‘०८२ देखि ८७ सम्मको पाँच वर्षको अवधिमा नेपालमा सुशासन, विकास, सेवा प्रवाहको गति पहिलाको भन्दा चार गुणा बढी हुनुपर्छ । सँगै गतिमा जानुपर्छ तर दुर्घटना हुनुहुँदैन’, उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सञ्चालनको जिम्मेवारी पाएको उल्लेख गर्दै उनले सरकारलाई पूर्ण साथ रहने तर आवश्यक ठाउँमा दबाब, प्रोत्साहन र प्रश्नसमेत गर्ने धारणा राखे । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको लागि ड्राइविङ सिटमा बस्ने जिम्मेवारी पाएको छ । देशमा सुशासनको सेवा प्रवाहको गतिमा लिएर जाने मुल जिम्मेवारी उहाँहरुले पाउनु भएको छ । यसमा नेपाली कांग्रेस पार्टीको पूर्णरुपमा साथ रहन्छ ।’ उनले देशलाई आगामी पाँच वर्ष कुनै पनि प्रकारको ‘दुर्घटना’, द्वन्द्व वा अतिवादमा पर्न नदिन नेपाली कांग्रेसको जिम्मेवारी भएको बताए । ‘देशले पटक पटक दुर्घटना व्यहोरेको छ । हामी जहिले पनि बहुमत प्राप्त गर्छौ कहिलेकाही सजिलो हुन्छ भन्ठान्छौं तर दुर्घटनामा पर्छौ । तर अबको पाँच वर्ष देश कुनैपनि दुर्घटनामा पर्नु हुदैन । कुनैपनि द्धन्द्धमा पर्नुहुदैन । कुनैपनि अतिवादमा पर्नु हुँदैन । नेपाली काग्रेसको अर्को भूमिका यो हो,’ उनले भने ।

 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार