रौतहटमा पनि मनाइयो ईद–उल–फित्र पर्व

शनिबार, चैत ७, २०८२

रौतहट । रौतहटमा मुस्लिम समुदायले शनिवार हर्षोल्लासका साथ ईद–उल–फित्र पर्व मनाएका छन्। एक महिना लामो रमजानको कठोर उपवास (रोजा) पूरा भएको खुसीयालीमा यहाँका विभिन्न स्थानीय तहमा विशेष चहलपहल देखिएको हो । ईद–उल–फित्र पर्वको अवसरमा गौर, गरुडा, चन्द्रपुर र राजपुर नगरपालिकाका विभिन्न ईदगाहहरूमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको थियो । यहाँका १५० भन्दा बढी मस्जिद र ईदगाहहरूमा मुस्लिम धर्मावलम्बीहरूले सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाएका छन् । नमाज सकिएपछि मुस्लिम दाजुभाइहरूले एकअर्कालाई अंकमाल गर्दै ‘ईद मुबारक’ भन्दै शुभकामना साटासाट गरेका छन् । यस दिन गरीब र असहायलाई ‘जकात’ र ‘सत्कार फितर’ (दान) दिने विशेष धार्मिक परम्परा अनुसार आर्थिक सहयोग र खाद्य सामग्री वितरण गरिएको छ । ईदको अवसरमा घरघरमा विशेष परिकारहरू बनाएर आफन्त र साथीभाइलाई खुवाउने चलन छ । रौतहटमा पनि दूध र सुख्खा फल मिसाएर बनाइएको ’सेवई’ (भर्मीसेली) मुख्य आकर्षण बनेको छ । आफन्त र इष्टमित्रहरू एकअर्काको घरमा पुगेर सुख–दुःख साट्ने र आशीर्वाद लिने क्रम जारी छ । यस वर्षको ईदले रौतहटमा धार्मिक सहिष्णुता र आपसी सद्भावको राम्रो नमुना पेश गरेको छ । विभिन्न समुदायका मानिसहरूले मुस्लिम दाजुभाइलाई शुभकामना दिँदै यो पर्वलाई साझा खुसीको रूपमा मनाएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार