बाजुरामा लगातार वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात

शनिबार, चैत ७, २०८२

बाजुरा । बाजुरामा शुक्रबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ । बिहीबार साँझबाट मौसममा आएको परिवर्तनसँगै शुक्रबार बिहानदेखि वर्षा सुरु भएको हो । वर्षासँगै जिल्लाका उच्च हिमाली तथा लेकाली भू–भागमा पुनः हिमपात भएको छ । माघ र चैत महिनामा गरी यस वर्ष बाजुरामा चार पटक हिमपात भएको छ । माघमा भारी हिमपात भएको थियो भने चैतमा बेसी क्षेत्रमा वर्षा र उच्च क्षेत्रमा हिमपात हुँदै आएको छ । लगातारको वर्षापछि उच्च हिमाली तथा लेकाली क्षेत्रहरू हिउँले सेताम्य बनेका छन्। बडीमालिका, गौमुल, हिमाली, त्रिवेणी र बुढीनन्दा लगायतका पालिकाका उच्च क्षेत्रहरूमा हिमपात भएको छ भने अन्य पालिकामा वर्षा भइरहेको छ । वर्षा र हिमपातका कारण किसानहरू भने उत्साहित भएका छन्। हिउँदे बाली सप्रिने र फलफूल खेतीमा समेत राहत पुग्ने भन्दै स्थानीय कृषकहरू खुसी भएका कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । यता, लगातारको वर्षाका कारण सडकखण्डहरू हिलाम्मे बनेका छन् । मार्तडीदेखि पूर्वी–उत्तरी भेग जाने सडकमा यातायात सञ्चालनमा कठिनाइ भएको छ । त्यस्तै, विद्युत आपूर्ति पनि अवरुद्ध बनेको छ । वर्षाका कारण विद्युत लाइनमा समस्या आएपछि बिहानैदेखि सेवा प्रभावित भएको छ । चिसो अत्यधिक बढेपछि स्थानीय प्रशासनले घरभित्रै बस्न, न्यानो कपडा प्रयोग गर्न र सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार