सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । देब व्रतका कविताहरूमा प्रेम सरल र रमाइलो अनुभूति होइन, बरु समय, समाज र जीवनका संघर्षसँग गाँसिएको जटिल यथार्थका रूपमा देखिन्छ । “शहर” मा आधुनिक जीवनले संवेदनशीलता हराएको देखिन्छ भने “तिमी गए पनि हुनेछ प्रेम” मा प्रेम निरन्तर रहने भावनाका रूपमा प्रस्तुत हुन्छ । “पृथ्वी” मा भने विश्वव्यापी पीडा र असमानताबीच प्रेम पनि थाकेको र संघर्षरत देखिन्छ । समग्रमा, उनका अनुसार प्रेम परिवर्तनशील, चोट खाँदै पनि कुनै न कुनै रूपमा जीवित रहने अनुभूति हो ।
१. शहर सधैँ सतर्क भएर हिँड्नु यो शहरमा । पशु, चौपाया बौलाएका छन् । चराचुरुङ्गी बौलाएका छन् । आइमाई, केटाकेटी, लोग्ने मान्छे यो शहरका मान्छेहरू बौलाएका छन् ।
एक सडक छ । छन् सयौँ भूलभुलैयाँ । कहाँ जाने हो ? कहाँ पुग्ने हो ? यहाँ रोकिन मनाही छ र पुग्न सख्त मनाही छ । यो शहरका साँगुरा चोकहरूमा हिँडिरहेछन् हर कोही बस हिँडिरहेछन् ।
काटिएको छ टाउको, बाँधिएका छन् पैताला । मेटाइएको छ सिमा रेखा, छैन कुनै छुनुपर्ने अन्तिम बिन्दु । कहाँ जाने हो ? कहाँ पुग्ने हो ? यहाँ रोकिन मनाही छ र पुग्न सख्त मनाही छ ।
शहर आफूभन्दा अग्ला सिर काटेर हिँड्छ, आफूभन्दा होचा सिरहरूमा टेक्दै हिँड्छ । जसले आफ्नो काखमा राखेर लट्ठा परेको कपाल कोरिदिएको थियो, आज उसैलाई यो शहरमा टेक्ने जमिन छैन, समाउने हाँगो छैन । जसका आँखामा बसेर हेरेको थियो शहरले भविष्यको ऐना, उसैका आँखाबाट यो शहरले आँखा झिकिदिएको छ ।
यो शहरबाट डराएर दूर भागेको छ मृत्यु । यहाँका सडकमा बट्टाका बट्टा जिन्दगी कैद गरेर, थैलाका थैला सपनाहरू बोकेर यात्रा गरिरहेछन् कंकालहरू ।
यहाँ मर्न सजिलो छैन प्रत्येक दिन बाँचेर मर्नुपर्छ । यहाँ बाँच्न पनि सजिलो छैन प्रत्येक दिन मरेर बाँच्नुपर्छ । यहाँ मर्न मनाही छ र बाँच्न सख्त मनाही छ । अनुहार बेचेर मान्छेहरूले यहाँ प्लास्टिकको मुस्कान किनिरहेका छन् । जसका लागि बाँचेका छन्, उसैको हत्या गरिरहेका छन् यो शहरका मान्छेहरू । बौलाएका छन शहर बौलाएको छ । २. तिमी गए पनि हुनेछ प्रेम
तिमी गए पनि हुनेछ प्रेम उदासी, सन्नाटा र छटपटी हुनेछ प्रतीक्षा कसैको ।
तिमी नहुँदा पनि थियो प्रेम । यो बाटो जहाँ तिमी कुदिरहेकी छौ, यहाँ कोही अरू पनि कुद्थ्यो कहिले ।
ती आँखा प्रेममय आँखा, आँसु भरिएका आँखा, रिस र उदेग लाग्दा आँखा,
घृणा र तिरस्कार मिसिएका आँखा अब अरू कसैको प्रतीक्षा गर्छन् । अरू कसैको स्पर्शमा रसाउँछन् ती । यो बाटो जहाँ मुर्दा बोकेर मलामी कुदिरहेका छन्, जीवन बोकेका श्रमिक उभिएका छन्, दुर्घटनाग्रस्त अनुहारहरू ढलेका छन् ।
बिहान भएर कोही भत्किन्छ, साँझ बनेर कोही दौडिन्छ ।
मालिकको कालो मोटर फुटपाथका बटुवामाथि च्यापिन्छ । यहीँ छ साहुको पसल जहाँ मलाई पर्खिरहेका आँखा छन् ।
यहीँ छ पूर्व प्रेमिकाको डेरा जहाँ झ्याल खुल्लै राखेर छकछक गरिरहन्छ उसको लोग्ने। नाथे प्रेम मानव किराना पसलको खुद्रा सामान जस्तो, कुनै कर्पोरेट हाउसको जागिरे जस्तो ।
एउटा मान्छेसितको प्रेम मान्छे जो मान्छेभन्दा बढी केही होइन, जो जतिबेला रितिन सक्छ, जो जतिबेला जोसितै भइदिन सक्छ।
यहाँ कसले गरेको छ प्रेम ? को मरेको छ एक बहुलाई ? को बाँचेको छ एक भग्नावशेष अनुहार हेरेर ?
छोडिदेऊ प्रेमका कुरा, छटपटीका कुरा, सम्झनाका कुरा । तिमी गए पनि हुनेछ प्रेम उदासी, सन्नाटा र छटपटी हुनेछ प्रतीक्षा कसैको ।
३. पृथ्वी उथलपुथल, उलटपुलट छ पृथ्वीमा । दक्ष प्रजापतिको यज्ञकुण्ड जस्तो छ यो भूगोल ।
कता कता नमिलेको, कता कता चाउरिएको, कता कता डल्लो परेको, कता कता रोगन उडेको हजुरबाको हुलिया जस्तो भइसकेको छ पृथ्वी ।
कतै च्यात्तिएर बीचबाट एक खुट्टा, एक हात, छातीको एक पाटो, एक आँखा, एक कान आधा–आधा बोकेर हिँडिरहेका छन् मान्छेहरू । कतै खाँदिएका छन् ।
संसारभरिका थोत्रा अनुहारहरू, थोपारिएको छ कचरा मचरा । उथलपुथल, उकुसमुकुस खुम्चिँदै खुम्चिँदै मेरो कोठा बन्दैछ पृथ्वी ।
पानीले सोहोरेको फूल जस्तो, आँसुले गलाएको अनुहार जस्तो, समयले चुसेको मजदुरको ढाड जस्तो, खियाले खाएको प्रेमीको हृदय जस्तो भइसकेको छ पृथ्वी ।
कोही रोटी ठानेर खान्छ, कोही पिज्जा मानेर चपाउँछ, कोही ज्यादा ठानेर ओछ्याउँछ कसैको त पृथ्वी नै छैन पृथ्वीमा ।
रात–रातभर रोइरहेछ रात, क्षितिजबाट साँझले हाम फालेर आत्महत्या गरेको छ । कतै च्यात्तिएर बीचबाट
उल्टो दौडिरहेका छन् बाटाहरू, कतै च्यात्तिएर बीचबाट घरहरू नै हिँडिरहेका छन्, कतै च्यात्तिएर बीचबाट नदीहरू विपरित बगिरहेका छन् ।
मेरो टाउकोमाथि खस्नै लागेको छ आकाश बीचबाट च्यात्तिँदै च्यात्तिँदै म पनि आइपुगेको छु खप्परसम्म ।