‘डिजिटल सिफ्टिङ’मा निजामती किताबखाना

इ–पेन्सनले प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

शनिबार, चैत ७, २०८२

काठमाडौं । निजामती किताबखानाले आफ्ना अधिकांश सेवालाई ‘डिजिटलाइज्ड’ (अनलाइनमा आधारित) बनाएको छ । किताबखाना जानुपर्ने सेवाग्राहीले अनलाइनबाटै सेवा प्राप्त गर्न सक्नेगरी प्रविधि विभागले अपनाएको छ । यही क्रममा विभागले शुक्रबारदेखि एकीकृत ई–पेन्सन सेवा सुरु गरेको छ । निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार अब  राजीनामा वा अनिवार्य अवकाश हुने कर्मचारीले पेन्सन, उपदानलगायतका निवृत्त भएपछि पाउने सेवाहरूका लागि विभाग धाइरहनु पर्दैन । ‘किताबखानाले आफ्नो कोर–सर्भिसलाई डिजिटल ट्रान्सफरमेसनको माध्यमबाट ई–सर्भिसको तहमा स्तरोन्नति गरेको छ,’ पोखरेलले नयाँ भने, ‘अब राष्ट्रिय किताबखाना पूर्णतया फेसलेस भएको छ ।’  नयाँ उद्घाटन गरिएको ई–पेन्सन सेवाका लागि प्रारम्भमा सहजकर्ता निकायको रूपमा ७७ वटै जिल्लाका जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयले भूमिका निभाउनेछन् । यसका लागि किताबखानाले सञ्चालन गरिरहेको ‘पिआइएस पोर्टल’को ‘ई–पेन्सन एप्लाई मोड्युल’को पहुँच जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयलाई प्रदान गरिएको महानिर्देशक पोखरेलले बताए । ‘सेवाको गुणस्तर र दिगोपन सुनिश्चित भएपछि कर्मचारी निवृत्त हुने सम्बन्धित सबै कार्यालयहरूलाई पहुँच उपलब्ध गराइनेछ,’ उनले भने ।  किताबखानाले प्रयोगमा ल्याएको ‘ई–पेन्सन एप्लाई मोड्युल’मार्फत जिल्लाबाट आवेदन गरिएका कर्मचारीसम्बन्धी विवरण किताबखानाको कम्प्युटरमा प्राप्त हुनेछ । यसरी प्राप्त आवेदनको विवरण किताबखानाले आफ्नो विवरणसँग भिडाएर प्रमाणित गरी माग गरिएका सेवा स्वीकृत गर्छ । स्वीकृत भएका सेवाहरूमा डिजिटल छाप र हस्ताक्षरमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र पेन्सन व्यवस्थापन कार्यालयमा प्रणालीगत रूपमा पठाएपछि सेवाग्राही कर्मचारीले जिल्लाबाटै सेवा पाउने सुनिश्चित हुने किताबखानाको भनाइ छ ।  विभागका महानिर्देशक पोखरेलले भने, ‘कुनै कार्यालय प्रमुखले आफ्नो कार्यालयबाट अवकाश वा राजीनामा स्वीकृत गराई निवृत्त हुन लागेका कर्मचारीलाई कार्यालयबाटै ई–पेन्सन सेवा दिने सकारात्मक सोच राखी विभागलाई अनुरोध गरेमा मागमा आधारित ई–पेन्सन एप्लाई मोड्युलको मागमा आधारित पहुँच पनि उपलब्ध गराइने सुविधा रहेको छ ।’ विभागका अनुसार एकीकृत ई–पेन्सन सेवामा निवृत्तभरण अधिकारपत्र (पेन्सनपट्टा), उपादान रकम निर्धारणको किटानीपत्र, सञ्चित घर बिदा तथा बिरामी बिदाबापत पाउने सुविधाको किटानीपत्र, औषधिउपचार सुविधाको किटानीपत्र र रोजेको बैंकमा सोझै पेन्सन खाता खोल्ने सुविधा समावेश छन् । निकट भविष्यमा नै निवृत्तभरण अधिकारपत्र (पेन्सन कार्ड) र निवृत्त कर्मचारी परिचयपत्र (डिजिटल परिचयपत्र) पनि नागरिक एपमार्फत देख्न र प्रिन्ट गर्न सकिने सुविधा पनि विस्तार गर्न लागेको विभागले जनाएको छ । 

Pokheral--1774064994.png
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार