कांग्रेस सभापति गगन थापाले राजीनामा दिए

बिहीबार, चैत ५, २०८२

काठमाडौं । नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन् ।  गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् ।  सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार नै राजीनामा बुझाएका हुन् । थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन । कांग्रेसले यही चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। बैठकअघि थापाले राजीनामा दिएका हुन् ।  गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति बनेका थिए ।  विशेष महाधिवेशनले थापाको नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।  तर, त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट अहिले पनि सर्वोच्चमा विचाराधीन अवस्थामा छ । विशेष महाधिवेशन लगत्तै कांग्रेस निर्वाचनमा होमिएको थियो । निर्वाचनमा थापा सर्लाही ४ मा रास्वपाका अमरेश सिंहसँग पराजित बनेका थिए ।  निर्वाचनमा थापा मात्रै पराजित बनेन्, धेरै शीर्ष नेताले चुनाव जित्न सकेनन्। चुनावमा रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट मात्र जित्न सक्यो । निर्वाचनमा कमजोर प्रतिपक्ष बनेपछि देउवा पक्षका नेताले थापाको आलोचना गर्दै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार