सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका कर्णालीका छ जना पूर्वमन्त्रीलाई मतदाताले पत्याएनन् । विभिन्न पार्टीबाट पटक पटक मन्त्री बनेकाहरू चुनावबाट पराजित भएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चार र सङ्घीय सरकारका पाँच जना पूर्वमन्त्रीहरु चुनावी मैदानमा होमिएका थिए । पाँच जना सङ्घीय पुर्वमन्त्रीहरुमध्ये पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वपर्यटन मन्त्री खड्काबहादुर विश्वकर्माले चुनावमा हार व्येहोर्नुप¥यो । सङ्घीय सरकारमा मन्त्री भएका डोल्पाका धनबहादुर बुढा र कालिकोटका महेन्द्रबहादुर शाहीले चुनाव जितेर फेरी सिंहदरबारमा छिर्ने मौका पाएका छन् । डोल्पाका बुढा पूर्व सहरी विकास मन्त्री र कालिकोटका शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा सङ्घीय सरकारका पूर्वऊर्जा मन्त्री हुन् । कर्णाली प्रदेश सरकारका चारजना पूर्वमन्त्री मध्ये रुकुम पश्चिमका गोपाल शर्माले चुनाव जितेका छन् । कर्णाली सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, पूर्वकृषि मन्त्री चन्द्रबहादुर शाही र भौतिक विकास मन्त्री अम्मरबहादुर थापालाई मतदाताले तिरस्कार गरे । पूर्वमन्त्री भण्डारी जुम्लाबाट, शाही मुगुबाट र थापा दैलेख क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए । रोचक त के छ भने पराजित भएका सबै मन्त्रीहरूलाई आफ्नै पूर्वसहकर्मीहरूले हराएका छन् । तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मालाई उनकै पूर्वस्वकीय सचिव गोपाल शर्माले पराजित गरेका छन् । २०६४ साल यता रुकुम पश्चिमबाट लगातार चुनाव जित्दै आएका जनार्दनलाई गोपाल शर्माले सात हजार २६३ मतान्तरले हराए । २१ हजार ६०९ मत प्राप्त गरी गोपाल शर्मा निर्वाचित हुँदा जनार्दन दोस्रो हुनपनि सकेनन् । यहाँ नेपाली काँग्रेसका राजु केसी १६ हजार ६६१ मत प्राप्त गरी दोस्रो बने । नेकपाबाट अलग्एिर प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेर चुनावमा गएका जनार्दनको १८ वर्षदेखिको निरन्तर संसदीय यात्राको बाटोमा ब्रेक लाग्यो । जाजरकोटमा २०६४ यताका सबै निर्वाचनमा कहिल्यै एक्लै र कहिल्यै गठबन्धन गरेर पनि जित्दै आएका शक्तिबहादुर बस्नेत पनि नाम मात्रैका शक्ति देखिए । वास्तविकतामा उनी ‘शक्तिहीन’ भइसकेको निर्वाचन परिणामले देखायो । यहाँ १८ वर्षदेखिको कम्युनिष्ट ‘गढ’ तोड्नै नेपाली कांग्रेसका खड्कबहादुर बुढाले शक्तिलाई शक्तिहीन साबित गरिदिए । बुढाले २० हजार १४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे । बस्नेत यस अघि तीन पटक जाजरकोटबाट विजयी भएका थिए । १८ वर्षपछि संसदीय राजनीतिमा फर्किएका पुर्वमन्त्री नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पनि आफ्नै पूर्वसहकर्मीबाट चुनावी हार व्यहोरे । कालिकोटका सबै संसदबादी दल एक हुँदा पनि आफूले चुनाव जित्ने दाबी गर्दै आएका प्रकाण्डको यो हार लज्जास्पद भयो । २०६४ सालको संविधानसभा निर्वाचनमा कालिकोटबाट १६ हजार ३८८ मतान्तरसहित २७ हजार ६२९ मत ल्याएर चुनाव जितेका विश्वकर्माले चार हजार ५९९ मतमा खुम्चिनु पर्यो । नेकपाका महेन्द्रबहादुर शाहीले चौथो पटक चुनाव जितेर संसदीय यात्रामा होमिदा तत्कालीन माओवादी थालेको ‘जनयुद्ध’को योजनाकार ‘प्रकाण्ड’ चौथो स्थानमा सीमित भए । ‘नेकपाका सबै नेताहरू मेरो राजनीतिक बच्चा हुन’ उनले चुनाव प्रचारक क्रममा ठाउँ ठाउँमा भन्दै आएका थिए तर कालिकोटका मतदाताले अभिभावक मानिएका प्रकाण्डलाई भन्दा ‘बच्चा’ महेन्द्रलाईलाई पत्याइ दिए । तत्कालीन नेकपा एमालेबाट विद्रोह गरी कर्णाली सरकारमा फ्लोर क्रस गरेर कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका अमरबहादुर थापालाई दैलेख निर्वाचन क्षेत्र १ बाट मतदाताले तिरस्कार गरे । २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ को प्रतिनिधिसभामा जित निकालेका नेकपाका अम्मरबहादुर थापाले लज्जास्पद हार व्यहोरेका छन् । नेपाली काँग्रेसकी बासना थापाले १२ वर्षपछि कम्युनिस्ट गढ तोडेर विजयको भण्डा पहराएकी छिन् । थापाले १२ हजार ३७२ मत ल्याएर ५७६ मतान्तरमा नेकपा एमालेका रवीन्द्रराज शर्मालाई हराउँदै थापा विजयी भएकी हुन् । शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । रास्वपाका नन्द किशोर बस्नेतले आठ हजार १५१ मत प्राप्त गरी तेस्रो स्थानमा हुँदा नेकपाका अम्मरबहादुर थापाले चार हजार २५६ मतमा सीमित हुनु परेको छ । कर्णालीका सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले पराजित गरेका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गरेर जित्दा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीलाई तीन हजार एक सय ८१ मतान्तरले पराजित गरे । भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे । नेकपा एमालेबाट एकीकृत समाजवादी हुँदै नेकपाबाट चुनाव लडेका मुगुका चन्द्रबहादुर शाही उपविजेता पनि बन्ने सकेनन् । मुगुमा नेपाली कांग्रेसका खडकबहादुर शाहीले चन्द्रबहादुरलाई हराएका छन् । खडक शाहीले मुगुमा सात हजार ९१४ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका पूर्णबहादुर रोकाया छ हजार ७१८ मतसहित निकटतम प्रतिस्पर्धी बने । नेकपाका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ मत ल्याएर तेस्रो स्थानमा सीमित हुन परेको छ ।