देशको उन्नति र राष्ट्रको विकासका लागि सधैं काम गर्छु : सभापति शर्मा

सोमबार, फागुन २५, २०८२

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सभापति प्रकाश शर्माले देशको उन्नति र राष्ट्रको विकासका लागि सधैं सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार समितिबाट बिदाइ भएका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै सभापति शर्माले संसद् र समितिले मुलुकको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको बताए । उनले देशको उन्नति, सुशासन र कानुनी व्यवस्थालाई सुदृढ बनाउने दिशामा आफू निरन्तर लागिरहने उल्लेख गरे । कार्यक्रममा उनले विगतमा समितिले बाँकी राखेको “विधेयक एन–२०८१” लाई अघि बढाएर सरकारलाई जवाफदेही बनाउँदै पारित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार उक्त विधेयक प्रत्यायोजित विधानसँग सम्बन्धित महत्वपूर्ण पक्षलाई समेट्ने भएकाले कानुन कार्यान्वयनको दृष्टिले पनि अर्थपूर्ण रहेको छ । “विधेयक एन–२०८१ अघिल्लो समितिले बाँकी राखेको थियो । हामीले त्यसलाई अघि बढाएर सरकारलाई जवाफदेही बनाउँदै पारित गर्न पहल गरेका छौ । कानुन बनाउँदा त्यससँग सम्बन्धित विधान र कार्यान्वयनको पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ,” उनले भने । सभापति शर्माले समितिले संघीयताको कार्यान्वयनलाई सरल र प्रभावकारी बनाउने विषयमा पनि छलफल तथा काम गरेको जानकारी दिए । संघीय संरचनाअनुसार कानुनी व्यवस्था र कार्यप्रणालीलाई व्यवस्थित बनाउन समितिले विभिन्न विषयमा सुझाव तथा अध्ययन गरेको उनको भनाइ थियो । त्यसैगरी विकास निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा पनि समितिमा व्यापक छलफल भएको उनले बताए । “देशको विकासलाई कसरी तीव्र र व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा पनि समितिमा निरन्तर छलफल भएको छ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार