संघीयता सबलीकरण समितिको बैठकमा कार्यकालको समीक्षा

समितिबाट बिदा हुँदै सदस्यहरूले भने, 'जनताको आवाज उठाउने काम गर्‍र्याैं'

सोमबार, फागुन २५, २०८२

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सोमबार बसेको बैठकमा समितिबाट पदावधि समाप्त भएका सदस्यहरूले आफ्नो कार्यकालको अनुभव आदान–प्रदान गरेका छन् । बैठकमा बोल्दै समितिका सदस्य गोपी बहादुर सार्की आछामीले आफूहरूले कार्यकालमा गरेका कामप्रति सन्तुष्टि व्यक्त गरे । उनले समितिले विभिन्न विधेयकहरू पारित गराएको र केही विधेयकहरू कानुनी प्रक्रिया पूरा गर्दै विचाराधीन अवस्थामा रहेको उल्लेख गरे । उनले भने, ‘हामीले जति काम गर्यौं, त्यसले केही हदसम्म सन्तुष्टि दिने शैलीको काम गर्यौं जस्तो लाग्छ । कतिपय विधेयकहरू हामीले पास गर्यौं, कतिपय विधेयकहरू कानुनी रूप पाएर विचाराधीन पनि छन् । यो एउटा चुनौतीपूर्ण काम हो जस्तो लाग्छ । जनताको आवाज उठाउने, व्यक्त गर्ने र ध्यानाकर्षण गराउने कामहरू पनि हामीले गरेका छौं ।’ त्यसैगरी समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आफूले समितिको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै कार्यकालमा साझा मुद्दाहरूमा निरन्तर बहस भएको बताए । उनले भने, ‘मैले समितिको नेतृत्व गर्ने अवसर पाएँ । यो बीचमा हामीले जहिले पनि साझा मुद्दामा बहस गर्यौं । ती साझा मुद्दालाई जनताको लागि, समाजको लागि र देशको लागि कसरी काम गर्न सकिन्छ भनेर छलफल गरेका छौं । संघीय सबलीकरणको क्षेत्रमा हामीले उल्लेखनीय रूपमा धेरै कामहरू गरेका छौं ।’ शेर्पाले समितिले तयार पारेका दस्तावेज र गरेका कामहरूले हालको राजनीतिक संकटको अवस्थामा समेत भविष्यमा मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे । उनले थपे, ‘मेरो नेतृत्वमा माननीय सदस्यहरूले गरेको कामको पनि प्रशंसा गर्न चाहन्छु । माननीय सदस्यहरूले खेलेको भूमिका मेरो लागि अवसर हो । यहाँबाट गएपछि पनि उहाँहरूले आफ्नो कार्यक्षमता देखाउनुहुनेछ भन्ने आशा छ । आफ्ना विचारप्रति पनि उहाँहरू प्रतिबद्ध हुनुहुनेछ । माननीय सदस्यहरूले दिएको योगदान र त्यसबाट बनेका दस्तावेजहरू राष्ट्रका लागि सम्पत्ति नै हुन् ।’ बैठकमा अन्य सदस्यहरूले पनि आफ्नो कार्यकालका अनुभव र समितिले गरेका कामबारे धारणा राखेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार