सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक जना नेपाली नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानविन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको उनका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए । स्थानीय प्रशासनका अनुसार दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा एसएसबीले तुइन काटिदिँदा स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको छन् । प्रत्यक्षदर्शी स्थानीयका अनुसार तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी काटिदिँदा धामी नदीमा खसेर वेपत्ता भएको जानकारी दिएका छन् । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्टले अहिलेसम्म तुइन चुँडिएर खसेको भन्ने जानकारी आएकाले जानकारी दिइन् । उनले भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक जानकारी नआएको पनि बताइन् । घटनास्थलमा ससस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको आरोपअनुसार भारतीय एसएसबीसमेतलाई पत्राचार गरी के कस्तो भएको हो सत्यतथ्य पत्ता लगाइ जानकारी दिन भन्दै पत्राचार गरिएको भट्टले बताइन् ।
काङ्ग्रेसद्वारा दार्चुला घटनाको वास्तविकता सार्वजनिक गर्न माग नेपाली काङ्ग्रेसले दार्चुलाको खलङ्गा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराएको छ । भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भएपश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीयरूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको काङ्ग्रेसले जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक भएको उल्लेख गरेका भन् । घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा सम्वाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन पार्टीका तर्फबाट उनले सरकारसँग माग गरेका छन् । आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने प्रवक्ता शर्माले विश्वास लिएका छन् ।