सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा निर्वाचन तयारी देशभर तीव्र पारिएको छ । निर्वाचन आयोग नेपालले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएको छ । आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वाचन क्षेत्रमा मतपत्र पुगिसकेको छ भने बागमतीसहित अन्य प्रदेशमा ढुवानी नियमित रूपमा जारी छ । राजधानीभित्रका मतदान केन्द्रमा समेत केही दिनमै मतपत्र पुर्याइने तयारी गरिएको छ । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा बढी मतपत्र छपाइ गरी प्याकिङसहित पठाइसकिएको आयोगले जनाएको छ । समानुपातिकतर्फ पनि दुई करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न भइसकेको छ । मतपत्र बाहेक आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीमध्ये अधिकांश ढुवानी पूरा भइसकेको छ, जसले निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाएको आयोगको दाबी छ । मतपत्र छपाइ भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आयोगको क्यालेण्डरअनुसार चरणबद्ध रूपमा गरिएको थियो । पुस महिनादेखि सुरु भएको छपाइ प्रक्रियाअन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि झन्डै ११ लाख नमूना मतपत्र समेत तयार गरिएको थियो । निर्वाचन नजिकिँदै जाँदा आयोगले सुरक्षा, सामग्री व्यवस्थापन तथा मतदान केन्द्र तयारीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।