सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय गरिएको निर्वाचनलाई स्वच्छ, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन राजनीतिक दल तथा सरोकारवालालाई संयमता र सहकार्यका साथ अघि बढ्न आग्रह गरेको छ । नेपाल पत्रकार महासंघ कोसी प्रदेशद्वारा विराटनगरमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विगतका अनुभव स्मरण गर्दै निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको निषेधात्मक अभ्यासले लोकतान्त्रिक प्रतिस्पर्धालाई कमजोर बनाउने बताएका हुन् । उनले २०४८ सालको निर्वाचन सन्दर्भ उल्लेख गर्दै त्यतिबेला केही शक्तिहरूमाथि प्रचार तथा उम्मेदवारीमा लगाइएका अवरोधहरूले राजनीतिक वातावरणमा नकारात्मक प्रभाव पारेको उदाहरण प्रस्तुत गरे । उनका अनुसार निर्वाचनमा सहभागी सबै राजनीतिक शक्तिले समान अवसर प्राप्त गर्नु र खुला रूपमा प्रतिस्पर्धा गर्न पाउनु नै वास्तविक लोकतान्त्रिक अभ्यास हो । पछिल्ला दिनहरूमा केही स्थानमा देखिएका निषेधसम्बन्धी प्रयासहरूलाई सम्बन्धित पक्षसँगको समन्वयमार्फत नियन्त्रण गरिएको जानकारी पनि उनले दिए । दलका नेतृत्वले कानुनविपरीत गतिविधि रोक्न र कार्यकर्तालाई अनुशासनमा राख्न थालेको प्रयासलाई सकारात्मक रूपमा लिइएको उनको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सफल बनाउन सञ्चार क्षेत्रको भूमिका पनि महत्वपूर्ण रहने उल्लेख गरे । सञ्चारमाध्यमबाट प्रवाह हुने सामग्रीले ऐतिहासिक अभिलेखको रूप लिन सक्ने भएकाले जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषण गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह गरे । उनले लोकतान्त्रिक प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने तथा सबै पक्षलाई अनुशासनको सीमाभित्र रहन प्रेरित गर्ने किसिमको पत्रकारिताले निर्वाचन प्रक्रियालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सत्य, पुष्टि गरिएका तथा सन्तुलित समाचार सम्प्रेषण गर्न आयुक्त तुलाधरद्वारा आग्रह निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले आयोग प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभइ सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताएकी छन् । उनले निर्वाचनका क्रममा पत्रकारको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने उल्लेख गर्दै सत्य, पुष्टि गरिएका तथा सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरिन् । नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा निर्वाचन आयुक्त डा. तुलाधरले भनिन्, “स्वतन्त्र र जिम्मेवार पत्रकारिताले मात्र स्वच्छ र निष्पक्ष निर्वाचनलाई सुदृढ बनाउन सक्छ ।” नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले निर्वाचनअघि आयोजना गरिएको यस्तो कार्यक्रमले पत्रकारको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै के गर्ने र के नगर्ने भन्ने विषयमा स्पष्टता ल्याउने विश्वास व्यक्त गरिन् । उनले पत्रकारलाई भयरहित वातावरणमा सूचना सङ्कलन र समाचार सम्प्रेषण गर्न सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरिन् । नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटीले उपत्यकामा कार्यरत पत्रकारका लागि निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्। साथै शनिबारदेखि सातै प्रदेशमा समेत यस्ता कार्यक्रम विस्तार गरिने उनले बताए । नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा महासङ्घले पत्रकारलाई आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण तथा पेसागत मर्यादाबारे स्पष्ट मार्गदर्शन दिएको छ । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निर्वाचनका बेला निष्पक्षता, व्यावसायिकता र आचारसंहिताको पूर्ण पालना गर्दै विश्वसनीय पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।