संसद् विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारेख

शुक्रबार, फागुन ८, २०८२

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेका रिटका विषयमा फागुन २२ गते साधारण तारेख तोकेको छ । सर्वोच्च अदालतले त्यस दिन रिट निवेदकहरूलाई साधारण तारेखमा बोलाएको हो । त्यतिबेला रिट निवेदकले मुद्दाको बाँकी सुनुवाइका लागि अंग पुर्‍याएर पेस भएमा पेसी निर्धारण गरिनेछ । अंग नपुगे अर्को तारेखमा बोलाइनेछ ।  सर्वोच्च प्रशासनबाट आफूहरूलाई फागुन २२ गतेलाई साधारण तारेखको जानकारी आएको अधिवक्ता कृतिनाथ शर्मा पौडेलले बताए । फैसलाको लागि आवश्यक प्रमाण नपुगेमा साधारण तारेखमा बोलाउने कानूनी अभ्यास छ ।  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गर्दै प्रतिनिधिसभा विघटन गरिएको थियो । सोहीबेला तोकिएको मिति अनुसार यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । अहिले निर्वाचनको तयारी तीब्र पारिएको छ । संसद पुनःस्थापनाको माग गर्दै नेकपा एमाले, नेपाली कांग्रेसको (तत्कालीन संस्थापन पक्ष)ले समेत सर्वोच्चमा रिट दायर गरेका थिए । यस विषयमा सर्वोच्चमा दर्जन बढी रिट परेको छ । सर्वोच्चले यसअघि संसद् विघटनसम्बन्धी सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भनेको थियो । कांग्रेसले मंसिर २३ र एमालेले मंसिर १० मा रिट दायर गरेका थिए । त्यसभन्दा अघि कानून व्यवसायीका तर्फबाट १२ थान रिट दायर गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार