सोसल मिडिया
Contact Us
युनिकोड
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–५ की ६० वर्षीया सिता कार्कीको धार्मिक आस्थासँग जोडिएको एक यात्रा दुःखद अन्त्यमा टुंगिएको छ। कार्की सप्ताह पुराण सुन्न घरबाट निस्किए पनि घर फर्किनन् । उनी बिहीबार ठूली भीरको जङ्गल क्षेत्रमा मृत अवस्थामा फेला परिन् । कार्की कमलामाई–६ रातामाटेस्थित रामेश्वर धाममा सञ्चालन भइरहेको सप्ताह पुराणमा सहभागी हुन घरबाट बिहान निस्किएकी थिइन् । साँझसम्म घर नफर्किएपछि परिवार र आफन्त चिन्तित बनेका थिए । त्यसपछि स्थानीयको सहयोगमा खोजतलास सुरु गरिएको थियो । खोजीका क्रममा उनलाई घरदेखि केही दूरीमा रहेको जङ्गलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ । शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ । धार्मिक कार्यक्रम गएकी महिलाको अकस्मात् मृत्युले स्थानीय समुदाय स्तब्ध बनेको छ । गाउँलेहरू घटनाको वास्तविक कारण सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि मात्र थप विवरण सार्वजनिक गरिने जनाएको छ ।