कांग्रेसले बुधबार जनकपुरधाममा प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

सोमबार, फागुन ४, २०८२

जनकपुर । नेपाली कांग्रेसले फागुन ६ गते बुधबार जनकपुरधाममा जेनजी युवाहरूको माग सम्बोधनसहितको प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको छ । काँग्रेसले आयोजना गर्न लागेको मधेश जनसभामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने कांग्रेस निर्वाचन प्रचार प्रसार समिति मधेश संयोजक नितेश कुमार गुप्ताले जानकारी दिए । मधेश केन्द्रित रहेको उक्त जनसभामा पार्टी सभापतिसहित केन्द्रिय समितिका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम जनकपुरधामको तीरहुतीया गाछिमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । जनसभा कार्यक्रमको प्रमुख अतिथि गगन कुमार थापा रहनेछन भने मधेश प्रदेशका मुख्यमन्त्री एवम प्रदेशका सभापति कृष्णा प्रसाद यादवले अध्यक्षता गर्नेछन् । कार्यक्रममा मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको उपस्थिति रह्ने संयोजक गुप्ताले जानकारी दिए । उनले लाखौंको संख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरुको उपस्थिति रहने दाबी गरे । नेपाली कांग्रेसले चुनाव केन्द्रित तथा पार्टी र संगठन मजबुत बनाउने अभियान तहत मधेश जनसभा गर्न लागेको संयोजक गुप्ताले बताए । कार्यक्रम व्यवस्थापनका निम्ति जिल्ला तथा वडाका सभापतिहरुको विशेष बैठक नेपाली कांग्रेसको मधेश प्रदेश पार्टी कार्यालयमा बसेको छ । उक्त बैठकमा कार्यक्रम सफल एवम व्यवस्थित बनाउनका लागि जिम्मेवारी तोकिएको प्रचार प्रसार संयोजक गुप्ताले बताए । उनले भोलि आधिकारिक रुपमै तयारी सम्बन्धि पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताए ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार