सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा दलहरुको शक्ति परिक्षण हुँदैछ । तीन बर्ष अघि भएको प्रतिनिधीसभामा नेपाली काँग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनबाट जित निकालेका दलहरुलाई आफ्नो विरासत जोगाउने चुनौती छ भने नेकपा एमाले कर्णालीमा आफ्नो गुमेको साख फर्काउने ध्याउन्नमा लागेको देखिएको छ । २०७४ सालमा एमाले–माओवादी गठबन्धनले कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा नतिजाविहीन भएको नेपाली कांग्रेसले २०७९ मा तीन दलसंगको गठबन्धनमा १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा चार सिटमा जित हात पारेको थियो । २०७४ मा एमाले माओवादी गठबन्धनबाट एमालेले छ सिट र माओवादीले पाँच सिटमा जित किालेको थियो । त्यतिबेला हुँलाबाट छक्कबहादुर लामा स्वतन्त्रबाट चुनाव जितेर पछि माओवादी केन्द्रमै फर्किएका थिए । २०७९ मा एकीकृत समाजवादी सहितको नेपाली काँग्रेस गठबन्धमा एमाले कर्णालीमा नतिजाविहीन भएको थियो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चार चार ठाउँमा चुनाव जित्दा एकीकृत समाजवादीले तीन र जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जितेको थियो । फागुन २१ मा हुन लागेको निर्वाचनबाट यसअघि जितेका चार सिट जोगाउँदै नयाँ सिटमा जित निकाल्ने कसरत कांग्रेसको रहेको छ । एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीलाई विगतका सिट जोगाउने चुनौती रहेको छ । कर्णालीमा राप्रपा, रास्वपा र श्रमसंस्कृति पार्टी सहितका नयाँ दलहरु पनि थपिएका छन् । काँग्रेसले अघिल्लो निर्वाचन जितेको सुर्खेतको क्षेत्र नम्बर एक र दुईमा काँग्रेस छोडर रास्वपा प्रवेश गरेका उम्मेदवार भएकोले यी क्षेत्र जोगाउन काँग्रेसलाई निकै मेहनत गर्नु पर्नेछ । नेकपा माओवादी केन्द्रले चुनाव जितेको कालिकोटमा माओवादी पृष्ठभुमीमा खड्कबहादुर बिश्वकर्मा र रुकुम पश्चिममा माओवादी केन्द्रका तत्कालिन उपमहासचिव जनार्दन शर्माले नेकपाका उम्मेदवारले चुनौती दिएका छन् । यसअघि गठबन्धनलाई हराउदै जित निकालेका राप्रपाका ज्ञानेन्द्र शाहीलाई रास्वपाकी विनिता कठायत र प्रलोपका मनऋषी धितालाई सामना गर्नु पर्नेछ । २०७९ को समानुपातिक मत हेर्दा कर्णालीमा नेकपा एमाले पहिलो दल हो । एमालेले समानुपातिकतर्फ एक लाख ८३ हजार एक सय ३३ मत पाउँदा कांग्रेसले एक लाख ८० हजार नौ सय नौ मत पाएको थियो । तेस्रोमा रहेको माओवादी केन्द्रले पाएको मत एक लाख ३५ हजार चार सय ९६ र नेकपा (एकीकृत समाजवादी) को २५ हजार पाँच सय ५५ मत ल्याएको थियो । त्यतिबेलाको समानुपातिक मतमा माओवादी केन्द्र र एकीकृत समाजवादीको जोड्दा पनि एक लाख ६१ हजार ५१ मत हुन्छ । यस पटक कालिकोटमा र रुकुम पश्चिममा माओवादी र एकीकृत समाजवादीको भोट प्रगतिशिल लोकतान्त्रिक पार्टी र नेकपा माओवादीले काट्नसक्ने अनुमान गरिएको छ । नेपाली काँग्रेस र नेकपा एमालेका भोट रास्वपाका उम्मेदवारमा जानसक्ने अनुमानले कुन दलको स्थान के हुने हो भनेर आँकलन गर्न सहज नभएको बिश्लेषकहरुले बताएका छन् । दलहरू एक्ला–एक्लै चुनाव लड्दा कांग्रेस र नेकपालाई लाई अघिल्लो पटक जितेका क्षेत्र जोगाउनुपर्ने चुनौती छ भने नेकपा एमालेलाई गुमेको साख फिर्ता गर्नु पर्ने बाध्यता छ ।