सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बाँनिया (कृष्ण)ले काठमाडौंको भुगोल, जातिय क्लष्टर र मतदाताको भावना नजिकबाट बुझेको उम्मेदवार भएकाले मतदाताले विश्वास जित्ने बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष चुनावी संवादमा उनले चुनावी अभियानका क्रममा हाल शुभेच्छुक, मतदाता र कार्यकर्ताहरुसँगको भेटले उत्साह थपेको बताउँदै विजयी हुनेमा विश्वास व्यक्त गरे । ‘हाल मतदाताहरुसँग भेट्ने काम गरिरहेका छौं । क्लस्टर क्लस्टरमा गएर भेट्ने, सुझाव लिने र प्रश्नहरुको उत्तर दिने साथै सहकार्य गर्दै अगाडि बढ्ने काम गरिरहेका छौं । यसक्रममा विशेषगरि राष्ट्रको समृद्धिको, सबै किसिमका जटिलता, त्यसको व्यवस्थापन गर्नेबारे गम्भीर वहस समेत गरेका छौं । कांग्रेसले नेतृत्व परिवर्तन गरेर गइसकेकाले सबैखाले चुनौतीको सामना गर्नेगरी काम गरिरहेका छौं,’ उनले भने । पार्टी सभापतिमा गगन कुमार थापा निर्वाचित भएकाले कांग्रेस बदलिएर र रुपान्तरित भएर अगाडि बढेको उल्लेख गर्दै उनले यतिबेला कांग्रेस सहज एवम विश्वासिलो पार्टी बनिसकेकाले मतदाताहरु आशावादी भएको उल्लेख गरे । काठमाडौं क्षेत्र नम्बर ६ मा क्षेत्रगत, मान्छेको व्यक्तिगतदेखि लिएर सामूहिक समस्याहरु रहेकाले त्यसको पहिचान गरेर काम गर्न आफू तत्पर रहेको विश्वास व्यक्त गरे । ‘मतदाताहरुले आफ्नो क्षेत्रका समस्याहरु राख्नु भएको छ । विशेषगरी विकास निर्माणहरुका समस्या छन् । आफ्ना आफ्ना किसिमका समस्यालाई नजिकबाट उहाँहरुले भोगिरहनु भएको छ । त्यसको समाधानका लागि अठोटका साथ मतदाताहरुलाई भनिरहेको छु । यस क्षेत्रका स्रोत साधन, खोलानाला र त्यसको व्यवस्थापन, प्राकृतिक सम्पदाहरु ऐतिहासिक पहिचानका सम्पत्तिहरुको संरक्षण संवर्धन, व्यवस्थित किसिमले अगाडि लैजानुपर्ने पनि छ । त्यसका लागि काम गर्न म तत्पर छु,’उनले भने । काठमाडौं ७७ जिल्लाका मतदाताहरुको बसोबास रहेको संघीय राजधानी भएकाले एक किसिमको राष्ट्रिय चिन्तन सबैले गरिरहेकाले त्यसकाबारे आफू सचेत रहेको बताए । आगामी निर्वाचन भदौ २३ र २४ गतेको आन्दोलनको उपज भएकाले संवेनशील भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेस ऐतिहासिक पार्टी भएपनि राज्यसत्ता संचालन गर्ने क्रममा केही कमजोरीहरु भएको बताउँदै वाँनियाले त्यसबेलाको अपजस स्पष्ट रुपमा अंगीकार गरेर मैदानमा उत्रिएको बताए । ‘हामी राज्यसत्तामा रहेकै बेला जेनजी आन्दोलन भयो । जेनजीहरुको मागको आधारमा अगाडि बढ्नुपर्छ भन्नेमा म प्रतिवद्ध छु,’ उनले भने । काठमाडौंको सन्दर्भमा खोला किनारामा बसेका आम नागरिकहरुको समस्या र उनीहरुको अधिकारका बारेमा काम गर्नुपर्ने र त्यसलाई व्यवस्थापन गर्नुपर्ने धारणा राखे । ‘जोकोही नागरिकको बास र गास पहिलो प्राथमिकता हो । उहाँहरुको अवस्थाबारे म जानकार छु । सचेत छु र उहाँहरुको समस्या प्रत्यक्ष रुपमा देखेर भोगेको छु । उहाँहरुसँग एउटा पारिवारिक सम्बन्ध जस्तो कायम गरेर धेरै काम गरेकाले उहाँहरुको समस्या नजिकबाट हेरेर बुझेको छु । त्यसलाई व्यवस्थापन गर्नुपर्ने मेरो प्रमुख जिम्मेवारी हो । उहाँहरुकै सल्लाह अनुसार काम गर्न तयार छु,’ उनले प्रतिवद्धता जनाए । उम्मेदवार बाँनियाले आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक र पुरातात्वीक महत्व बोेकेका सम्पदा स्थलहरुको संरक्षण र नेवार समूदायहरुको गुठीको व्यवस्थापनमा काम गर्ने अठोट पनि व्यक्त गरे । ‘गुठीको प्रबर्धन गरेन भने, संस्थागत रुपको त्यसलाई व्यवस्थित गर्दै लगेन भने सम्पदाको नष्ट हुन्छ । किनभने सम्पदाको संरक्षण गुठीले गरिराखेका छन् । गुठीको व्यवस्थापन गर्नु सम्पदालाई बचाउनु हो । त्यसकारण सम्पदाका विषयमा म बढी चिन्तित छु । गुठी र सम्पदाका सन्दर्भमा चेतनशील वा बुझ्नसक्ने अवस्थादेखि धेरै अनुभूति छ । सम्पदा हाम्रो सम्पदा भएकाले त्यसको व्यवस्थापन मेरो प्रमुख दायित्व हो,’ उनको भनाइ छ । नदीनालाहरुको व्यवस्थापन र सफाइ महत्वपूर्ण काम भएकाले पर्यावरण जोगाउन पनि यसमा काम गर्नुपर्नेमा उनी प्रतिबद्ध छन् । ‘खोलानाला दूषित हुँदा पर्यावरण विग्रिन्छ । मान्छेको स्वास्थ्यलाई हानि पुर्याउँछ । यसको व्यवस्थापनका लागि मतदाताहरुलाई भनेको पनि छु । निर्वाचित भएर गएपछि वा काठमाडौँ जिल्लाका प्रतिनिधित्व गर्ने सांसदहरुको एउटै स्वर बनाएर प्रस्ताव संसदमा पेश गर्नेछु । काठमाडौं सुन्दर बनाउनका लागि पहिला नदीनालाको व्यवस्थापन गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ । काठमाडौंको गुठी र नदीनालाको व्यवस्थापन गरेर उचित संरक्षण गरेर यथोचित व्यवस्थापन गरेर जानुपर्ने छ । यसमा काम गर्ने मेरो पहिलो लक्ष्य हुनेछ । अरु विकास निर्माणका कुराहरु आवश्यकता अनुसार व्यवस्थापन गरेर लाने कुरामा स्पष्ट नै छु,’ उनले भने । लोकतन्त्र वा प्रजातन्त्र अर्थात गणतन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको समावेशीमुलक प्रतिनिधित्व भएकाले निर्वाचनमा नयाँ वा पुराना सबैको दलहरुको प्रतिनिधित्व हुनुपर्नेमा उनले जोड दिए । ‘निर्वाचनमा नयाँ पुरानो भन्नेले खासै अर्थ राख्दैन । प्रतिस्पर्धा सबैबीच हुनुपर्छ । कुनै पार्टीले गरेको जवाफदेहीता र उसले गरेको क्रियाशीलताबाट प्रश्न उठ्नु स्वभाविक छ । मान्छेको आकांक्षा सिमित नहुने र समय सन्दर्भ अनुसार बढ्दै जाने भएकाले पुरानो इतिहास भएको पार्टीले आफूलाई रुपान्तरित गरेर जानुर्पछ । नयाँ भनिएका पार्टीहरुले पुरानालाई घेरावन्दी गर्नु जरुरी पनि छैन । आफुले गर्नुपर्ने दायित्वबाट पन्छिन पनि मिल्दैन,’ वानियाले स्पष्ट पारे । ऐतिहासिक पार्टीको प्रतिनिधिको रुपमा आफूले उम्मेदवारी दिन पाएको दाबी गर्दै बाँनियाले नयाँ पार्टीहरुले डेलिभरी गर्न सकेनन् भने प्रश्न उठ्ने उनले बताए । नयाँ भनिएका पार्टीहरु पनि परीक्षामा असफल भइसकेकाले पूरानाहरुप्रति मतदाताको विश्वास बढेको दाबी गरे । कांग्रेसभित्र कुनै किसिमको मत भिन्नता नरहेको उल्लेख गर्दै उनले सबै एकढिक्का भएर पार्टीलाई जिताउन क्रियाशील रहेको जानकारी दिए । ‘यसअघि यो क्षेत्रबाट भीमसेन दास प्रधान उम्मेदवार हुनुहुन्थ्यो । उहाँ यतिबेला कांग्रेसलाई जिताउन लागिरहनु भएको छ । पार्टीमाथि प्रश्न उठेपनि मतदाताप्रति हामी जवाफदेही छौं । मैंले पटक पटक निर्वाचनमा उठ्छु भनेपछि मात्र अवसर पाएको हुँ । सामाजिक रुपमा आफुलाई रुपान्तरित गरेर अगाडि बढेको छु । पार्टीमा आन्तरिक रुपमा क्रियाशील भएर काम गर्दै जाँदा विकास निर्माणदेखि लिएर राज्य संचालनमा धेरै रचनात्मक काम समेत गर्ने मौका पाएको छु,’ उनले भने । अहिलेको परिस्थिति भनेको एउटा संकटग्रस्त अवस्थामा रहेकाले प्राप्त गरेका अधिकार पनि एउटा अफ्ठेरो असजिलो परिस्थितिलाई संस्थागत गरेर लानुपर्ने उनको भनाइ छ । हाल देखिएका समस्या वा चुनौतीहरुको समाधान गर्न, मुलुकको समृद्धको बाटो ढोका खोलेर अघि बढ्न कांग्रेस तयार रहेको उनको भनाइ छ । ‘नेपाली कांग्रेस बदलियो, अब देश बदल्छौं भन्ने हाम्रो स्लोगन नै छ । देशको अहिलेको परिस्थिति वा माग अनुसार जानको लागि एउटा प्रतिनिधि पात्रका रुपमा मैदानमा आएको छु । पार्टी सभापति गगन थापा ज्यूले लिनुभएको बाटोमा अघि बढेको छु । म खेतीकिसानी गर्ने व्यक्ति भएकाले सबै तहका मतदाताहरुको भावना बुझेको छु । सबै जातजाति मेरा लागि बराबरी हुन् । सबै जातजातीका व्यक्तिसँग आत्मीय सम्बन्ध छ । पारिवारिक सम्बन्ध राखेर सामाजिक रुपमा आफूलाई प्रमाणित गरिसकेको छु । सबै मतदाताको आशीर्वाद र विश्वासका कारण काठमाडौं क्षेत्र नम्बर ६ का मतदाताले मलाई विश्वास गर्नुहुनेछ,’ उनले विश्वास व्यक्त गरे ।