कोशी प्रदेशमा के सन्देश दिँदैछन् कुलमान ?

शुक्रबार, फागुन १, २०८२

विराटनगर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय छन् । बुधबार झापाबाट सुरु भएको उनको अभियान विर्तामोड, दमक, मोरङको पथरी, सुनसरीको धरान–इटहरी हुँदै विराटनगर आइपुगेको हो । अभियानका क्रममा उनले पाँच वर्षभित्र देखिने परिणाम दिने राजनीतिक अभ्यास अघि सार्ने सन्देश दिएका छन्। ऊर्जा क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक पूँजीका रूपमा प्रस्तुत गर्दै घिसिङले अब देशव्यापी रूपान्तरणको लक्ष्य राखेको बताएका छन् । विराटनगरस्थित मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा बिहीबार साँझ उनले सुशासन, उत्पादनमुखी अर्थतन्त्र र युवा रोजगारीलाई आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राखेको स्पष्ट पारेर्। ऊर्जा क्षेत्रमा अँध्यारो हटायौं, अब राज्य सञ्चालनमा देखिएको अँध्यारो हटाउने समय आएको छ,’ उनले भनेर्, पाँच वर्षलाई परिणाम दिने निर्णायक अवधि बनाउँछौं ।’ उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच देशभर संयुक्त उम्मेदवारी भएको जानकारी दिँदै उनले मोरङ–६ मा २५ वर्षीय वसन्त बुढाथोकी उम्मेदवार रहेको उल्लेख गरे। युवा नेतृत्वलाई अघि सारेर परम्परागत राजनीतिक संस्कारलाई चुनौती दिने रणनीतिमा पार्टी रहेको उनको संकेत थियो । घिसिङले भ्रष्टाचार, बेरोजगारी र घट्दो उत्पादनशीलतालाई देशका मुख्य समस्या औँल्याउँदै कडा नीतिगत सुधारमार्फत समाधान खोजिने बताए। उनले जेनजी पुस्ताको आकांक्षा बोकेको शक्ति रूपमा पार्टीलाई प्रस्तुत गर्दै युवाहरूको सक्रिय सहभागिताबाट दीर्घकालीन परिवर्तन सम्भव हुने दाबी गरे। ऊर्जा, पूर्वाधार, औद्योगिक विकास र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए । कार्यक्रममा मोरङ–६ का उम्मेदवार वसन्त बुढाथोकीले वर्तमान राजनीतिक अवस्थाप्रति नागरिक निराश रहेको उल्लेख गर्दै आफूले सुशासन र रोजगारीको स्पष्ट खाका प्रस्तुत गरेको उनले बताए । कोशी प्रदेशका विभिन्न सहरमा पुगेर घिसिङले आफ्नो विगतको कार्यअनुभवलाई भविष्यको राजनीतिक योजनासँग जोड्ने प्रयास गरिरहेका छन्। पाँच वर्षभित्र देखिने परिवर्तनको प्रतिबद्धतासहित उनी मतदातामाझ पुगिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार