ठूला दलहरूको घोषणापत्र अझै आएन

शुक्रबार, फागुन १, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मतदान हुन २० दिन मात्र बाँकी छँदा अधिकांश राजनीतिक दलहरूको चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् । चुनावी घोषणा पत्र नआउँदा चासो व्यक्त हुन थालेको छ । ठूला दलहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीबाहेक शुक्रबार सम्म नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी कसैले पनि घोषणापत्र ल्याएका छैनन् । ती दलका नेताहरूले चुनावी घोषणापत्रको तयारी ‘अन्तिम चरणमा’ पुगेको बताएका छन् । निर्वाचन आयोगले फागुन ३ गतेसम्म घोषणापत्र ल्याइसक्न निर्देशन दिएको छ । त्यसैले त्यस बेलासम्म घोषणापत्र सार्वजनिक आइसक्ने विश्वास व्यक्त गरेका छन् । तर एकजना भूतपूर्व निर्वाचन आयुक्तले दलहरूको घोषणापत्र आउन ढिलो भएको भन्दै उनीहरूका प्रतिबद्धता बुझ्नका लागि जनताले पर्याप्त समय पाउनुपर्ने बताए ।

केही दिनभित्र आउने
यो चुनावका लागि केही दलले घोषणापत्र, केहीले ‘प्रतिबद्धतापत्र’, केहीले ‘सङ्कल्पपत्र’ र केहीले ‘वाचापत्र’ सार्वजनिक गरेका छन् ।  नेताहरूले घोषणापत्रमा काम भइरहेको र अबका केही दिनभित्रै सार्वजनिक गर्ने बताएका छन् । विगतका अभ्यासझैँ यसपालि पनि प्रतिबद्धतापत्र सार्वजनिक गरिने नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बताए । ‘आयोगले दिने समयसीमाको एक दिनअघि वा पछि हामीले घोषणापत्र सार्वजनिक गर्दै आएको हो । त्यसैले चाँडोभन्दा चाँडो सार्वजनिक गर्ने तयारी हामीले गरिरहेका छौँ,’ उनले भने । ‘घोषणापत्रमा हामीले लगभग काम पूरा गरिसकेका छौँ । अब अन्तिम रूप दिन मात्रै बाँकी छ’, घिमिरेले भने । यसपालि अलि प्रभावकारी ढङ्गले घोषणापत्र ल्याउने प्रयासमा आफूहरू रहेको एमाले नेता महेश बर्तौला बताउँछन् । ‘सबै विषयलाई समेटेर अलि प्रभावकारी ढङ्गबाट घोषणापत्र सार्वजनिक गर्नुपर्ने भएकोले अलि समय लिएको जस्तो देखिएको हो । विगतमा पनि यस्तै समयभित्र सार्वजनिक गर्ने गरिएको हो । हामी अन्तिम तयारीमा पुगेका छौँ,’ उनले भने । ‘निर्वाचन आयोगले दिएको समयसीमाअनुसार छिट्टै घोषणापत्र सार्वजनिक गर्ने छौँ’, उनले भने ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालका अनुसार फागुन ४ गते घोषणापत्र सार्वजनिक गर्ने उनको पार्टीको योजना थियो । ‘फागुन ४ गते त हाम्रो योजना नै थियो, तर आयोगले ३ गतेभित्र गर्न भनिसकेपछि अब त्यो समयसीमाभित्र ल्याउँछौँ,’ उनले भने ।
‘देशलाई समृद्धितर्फ डोर्‍याउन स्पष्ट मार्गचित्र आओस् भनेर अलिकति राम्रोसँग काम गर्नका लागि समय लिएका हौँ ।’ उनले भने ।  प्रमुख राजनीतिक दलहरूमध्ये घोषणापत्र ल्याउनेमा नेपाली कम्युनिस्ट पार्टी चाहिँ पहिलो बनेको छ। ‘सो पार्टीले मङ्गलवार घोषणापत्र सार्वजनिक गरेको छ । समय पनि घर्किसकेकै हो । घोषणापत्र तल फील्डसम्म पुगोस् भनेर समयमै ल्याएका हौँ, पहिलो हुनलाई चाहिँ होइन,’ नेकपाका नेता अग्नि सापकोटाले भने । यद्यपि घोषणापत्रमा काम गर्दैगर्दा सार्वजनिक गर्नका लागि केही समय लागेको उनले स्वीकारे ।

कानुनबमोजिम ‘अनिवार्य’
निर्वाचन आयोगले फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई मङ्गलवार औपचारिक रूपमै निर्देशन दिएको छ। ‘निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनितिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको हो,’ आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले भने । ‘एउटा पाटो भनेको कानुनमा भएको व्यवस्थाबमोजिम घोषणापत्र सार्वजनिक गर्नु अनिवार्य हो । अर्को कुरा राजनीतिक दलले जनतासँग मत माग्न जानुअगाडि आफ्ना प्रतिबद्धता जाहेर गर्नु अनिवार्य सर्त हो’, उनले भने । चुनावी घोषणापत्र सार्वजनिक नगर्ने राजनीतिक दलहरूलाई कस्तो कारबाही हुने भन्नेबारे किटान गरेर कतै केही उल्लेख नगरिएको आयोगका अधिकारीहरू बताउँछन् । तर सहायक प्रवक्ता जीसीले भने, ‘ठ्याक्कै यो कारबाही भन्ने स्पष्ट छैन । तथापि निर्वाचन आचारसंहिता, निर्वाचन कसुर तथा सजाय ऐनलगायतका कानुनहरू आवश्यकताअनुसार आकर्षित हुन सक्छन् ।’ जीसीका अनुसार बुधवारसम्म राष्ट्रिय जनमोर्चाले मात्रै औपचारिक रूपमा चुनावी घोषणापत्र आयोगमा दर्ता गराएको छ ।

प्रतिबद्धता ‘समयमै पुग्नुपर्छ’
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि फागुन ४ गतेदेखि १८ गतेसम्मको समय तोकेको छ । आयोगले मतदाता शिक्षा कार्यक्रम थालिसकेकाले दलहरूका प्रतिबद्धताहरू पनि समयमै मतदातासम्म पुग्नुपर्ने पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको तर्क छ । ‘दलहरूले अझ ढिलो गर्न नहुने हो । उहाँहरूकै दृष्टिकोणबाट पनि ढिलो गर्दा राम्रो हुँदैन,’ उनले भने । नयाँ र पुराना दलहरूबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको पृष्ठभूमिमा प्रमुख दलहरूले एकअर्कालाई कुरेको पनि हुन सक्ने उप्रेतीको आकलन छ । ‘पहिला त्यसले ल्याओस् र उसका कुरा काट्ने गरी अझ राम्रो म ल्याउँछु भनेर एकअर्कालाई पर्खेको पनि हुन सक्ने मेरो एउटा आकलन हो,’ उनले भने ।
तर नेताहरूले आआफ्ना प्राथमिकता हुने भएकाले कसैलाई पर्खनुपर्ने आवश्यकता नरहेको तर्क गरेका छन् । ‘कसैसँग हामीले तुलना गर्नुपर्दैन । हामीले हाम्रो बुझाइ र हामीले नेतृत्व गर्दै आएको देश र समाजको आजका समग्र पक्षलाई केन्द्रमा राखेर हाम्रो प्रतिबद्धता सार्वजनिक गर्छौँ,’ एमाले नेता महेश बर्तौलाले भने । कांग्रेस नेता गुरुराज घिमिरेले पनि एकअर्कालाई हेरेर बनाउने कुरा उपयुक्त नहुने बताए । ‘अरू पार्टीले के गर्छ, अरू पार्टीले गरेको हेरेर गर्ने कुरा ठिक होइन, उचित होइन,’ उनले भने । नेताहरूले आफ्नो नेतृत्वमा केके कुरा कसरी गर्ने भन्नेबारे स्पष्ट र पूरा हुने घोषणापत्र लिएर आउने बताइरहेका छन् । यद्यपि ठूलाठूला वाचा गर्ने र पूरा नभए पनि त्यसप्रति उत्तरदायी नहुने गरेको भन्दै दलहरूका घोषणापत्रलाई लिएर विगतदेखि आलोचना हुँदै आएको देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार