२०२४ को विद्यार्थी आन्दोलनपछि भएको बंगाली निर्वाचनमा बीएनपीलाई बहुमत 

शुक्रबार, फागुन १, २०८२

काठमाडौं । बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले बिहीबार भएको आम चुनावमा बहुमत हासिल गरेको छ । पार्टीले २९९ सिटमध्ये १६५ सिट जितेको छ । पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। रहमानले दुई सिटमा चुनाव लडेका थिए, उनले दुवै ठाउँमा जितेका हुन् ।  जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले अहिलेसम्म ४५ सिट मात्र जितेको छ। २०६ सिटको नतिजा घोषणा गरिएको छ । अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले तीन सिट जितेका छन् ।  भारत निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले चुनावलाई पूर्ण रूपमा धोखाधडी र असंवैधानिक भनेकी छन् । उनले मुहम्मद युनुसले अवैध र असंवैधानिक रूपमा सत्ता कब्जा गरेको र चुनाव त्यही बहानामा भएको आरोप लगाइन् । बंगलादेशमा ३५ वर्षपछि पुरुष प्रधानमन्त्री पाउनेभएको छ । काजी जफर अहमद १९८८ मा प्रधानमन्त्री बनेका थिए । यसपछि, पूर्वप्रधानमन्त्री शेख हसिना र खालिदा जियाले १९९१ देखि २०२४ सम्म बंगलादेशी राजनीतिमा प्रभुत्व जमाए । दुवैले प्रधानमन्त्रीको रूपमा सेवा गरे । शेख हसिनाको निर्वासन र खालिदा जियाको मृत्युपछि यो पहिलो चुनाव थियो । शेख हसिनाको पार्टी, अवामी लिगलाई यस चुनावमा भाग लिन अनुमति दिइएको थिएन । निर्वाचन आयोगले २०२४ को विद्यार्थी आन्दोलनको क्रममा भएको हिंसामा पार्टीको भूमिकाका कारण यो निर्णय गरिएको बताएको छ । रहमान १७ वर्षपछि गत डिसेम्बरमा देश फर्किएका थिए । तारिक रहमान जनवरी २५ मा बेलायतबाट बंगलादेश फर्किएका थिए । फर्केको पाँच दिनपछि पूर्वप्रधानमन्त्री तथा उनकी आमा खालिदा जियाको लामो बिरामीपछि निधन भएको थियो । देश भित्र अनुपस्थित भए पनि, तारिकलाई बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) को नेता मानिन्थ्यो । पार्टीको रणनीति, आन्दोलन र राजनीतिक लाइन उनले लामो समयसम्म निर्धारण गरेका थिए ।
तारिक रहमानले आफूलाई शान्त, सुन्ने र नीति–केन्द्रित नेताको रूपमा प्रस्तुत गरिरहेका छन् । उनी हरेक वर्ष ५ करोड रूख रोप्ने, ढाकामा नयाँ हरित क्षेत्रहरू सिर्जना गर्ने र प्राविधिक शिक्षा बढाउने कुरा गर्छन् ।
रहमानले लगभग १७ वर्षदेखि लन्डनमा राजनीतिक शरण लिएका थिए । पूर्वराष्ट्रपति जियाउर रहमानले बीएनपी स्थापना गरेका थिए र पूर्व प्रधानमन्त्री खालिदा जियाले यसलाई सफलतापूर्वक व्यवस्थापन गरेकी थिइन् । उनले छोटो समयमै पार्टीलाई सत्तामा पुर्‍याइन् । अब, सम्पूर्ण जिम्मेवारी तारिक रहमानको काँधमा छ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार