नेपाली काँग्रेसद्वारा निर्वाचन परिचालनसम्बन्धी ३४ बुँदे निर्देशन

बिहीबार, माघ २९, २०८२

काठमाडौँ । नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन परिचालन निर्देशिका-०८२’ शीर्षकमा ३४ बुँदे परिपत्र जारी गरेको छ । बिहीबार पार्टी मातहतका संरचनामा पठाइएको उक्त निर्देशनमार्फत संगठनात्मक एकता र सक्रिय परिचालनमा जोड दिइएको छ । परिपत्रमा पार्टीभित्र रहेका आन्तरिक मतभेदलाई पछाडि राखी सबै तह र पंक्तिलाई निर्वाचन अभियानमा समन्वित रूपमा अघि बढ्न आग्रह गरिएको छ । निर्वाचनको सन्दर्भमा पार्टीको पक्षमा अनुकूल वातावरण निर्माण हुँदै गएको उल्लेख गर्दै त्यसलाई संस्थागत उपलब्धिमा रूपान्तरण गर्न संगठित प्रयास आवश्यक रहेको जनाइएको छ । निर्देशनमा विगतमा सम्पन्न कार्य र नीति-कार्यक्रमलाई आधार बनाएर मतदातासमक्ष प्रस्तुत हुने संस्कार विकास गर्नुपर्ने विषय पनि समेटिएको छ। उपलब्धि र कार्यसम्पादनका आधारमा प्रतिस्पर्धा गर्ने राजनीतिक अभ्यासलाई सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ । उक्त परिपत्रले निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित र परिणाममुखी बनाउन संगठनका सबै तहमा समन्वयात्मक भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका– ०८२’ सम्बन्धी परिपत्र ।

१) कुनै पनि राजनैतिक दलभित्र काम गर्ने क्रममा कतिपय बिषयमा आपसी असमझदारी उत्पन्न हुन सक्छन्, यो स्वभाविक हो । तर निर्वाचनको समयमा आन्तरिक विमतिका सबै कुरा बिर्सिएर सम्पूर्ण पार्टी पंक्ति एक्यवद्ध हुन जरुरी हुन्छ । यसलाई आत्मसात गर्दै आ–आफ्नो तहमा सबै साथीहरूलाई प्रेरित गर्ने-गराउने ।

२) ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ का रूपमा अघि आएको तथ्य मतदाता समक्ष राखेर मतदाताको नवीन विश्वास गाँस्न प्रभावकारी अभियान अघि बढाउने ।

३) केन्द्रीय समितिको बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदका लागि सर्वसम्मत रूपले अघि सारेपछि पार्टीको पक्षमा चुनावी माहौल बलियो बन्दै गएको छ । यो उम्मेदवारीलाई कुशल ढंगले मतदाता समक्ष स्थापित गर्दै मतदाताको विश्वास बलियो ढंगले आर्जन गर्न तर्फ चुनाव अभियानलाई केन्द्रित गर्ने ।

४) निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पूर्णतः पालना गरेर निर्वाचन अभियानलाई स्वस्थ र मर्यादित बनाउन भुमिका निर्वाह गर्ने । निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने बिषयमा स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गर्ने ।

५) राष्ट्रिय झण्डाको उच्च सम्मान सदैव गर्नु पर्ने दायित्व हामी सबै नेपालीको हो ।
* निर्वाचन आयोगले तोकेको संख्या र प्रयोगको विधि सबै दल, सबै उम्मेदवार र सबै थरी प्रचारकले पालना गर्न जरुरी छ ।
* राष्ट्रिय झण्डाको उच्च सम्मान र उच्च मर्यादा राख्ने सजगता चुनाव अभियान क्रममा कांग्रेसले संवेदनशीलता साथ राख्नेछ ।

६) विगतमा कांग्रेसको नेतृत्वमा देशले हासिल गरेका राजनैतिक र आर्थिक लगायतका उपलब्धिको टिपोट मतदाता समक्ष बुँदागत रूपमा प्रस्तुत गर्ने । आफुले गरेका कामको जगमा चुनाव लड्ने संस्कृतिको विकास गर्न बल पुर्‍याउने ।

७) विगतका उपलब्धिप्रति गर्व गरिरहँदा, विगतका कमी–कमजोरीको पहिचान र आत्मसात पनि हामी गरिरहेका छौं ।
* चुनावी मैदानमा कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता गरिरहँदा, स्पष्ट गर्ने– ‘जो बदलिन सक्छ, उसैले बदल्न सक्छ’ ।
* कमजोरी पहिचान गरेर नयाँ ढंगले अघि बढ्ने यात्रा प्रारम्भ भइसकेको तथ्यलाई दृढ ढंगले मतदाता समक्ष राख्ने ।

८) पार्टीको प्रतिज्ञा पत्रको ‘भिजन १०’ हाम्रो दृष्टि, दायित्व र गन्तव्य हो । यसलाई मिडिया, सामाजिक सञ्जाल र प्रचार मञ्च मार्फत बुँदागत र बिस्तारित रूपमा मतदाता समक्ष राख्ने । निर्वाचनलाई संकल्प र मुद्दा केन्द्रित बनाउन सकारात्मक योगदान गर्ने ।

९) स्थानीय मुद्दाहरू पहिचान गरेर त्यसप्रति पार्टीको प्रतिबद्धता व्यक्त गरिरहँदा ‘चुनाव जित्न जे पनि आश्वासन दिने’ गलत राजनैतिक प्रवृत्तिबाट होईन, स्थानीय नागरिक लाभान्वित हुनसक्ने कोणबाट टुंगोमा पुग्ने ।

१०) भौतिक निर्माणका परियोजना बारे कुनै पनि क्षेत्रमा लहडका आधारमा होईन पूरा गर्न सकिने ‘फिजिबल’ र लाभ हासिल गर्न सकिने ‘भायबल’ कोणबाट हेर्न, बुझ्न र टुंगोमा पुग्नुपर्ने हुन्छ ।
* राष्ट्रिय योजनाहरू बारे केन्द्रको टिमले दृष्टि निर्माण गर्नेछ, स्थानीय परियोजनाका सम्बन्धमा स्थानीय आवश्यकताका आधारमा धारणा निर्माण गर्ने सजगता पार्टीले राख्नुपर्नेछ÷राख्नेछ ।

११) ‘निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो’ ।
* चुनाव मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार नेपाली कांग्रेसका लागि दुश्मन होइनन् ।
* चुनावी प्रतिस्पर्धा क्रममा यो संस्कृतिलाई सबैले आत्मसात गर्न सकुन् भनेर हामीले हाम्रो व्यवहारबाट सन्देश प्रवाहित गर्नुछ ।

१२) नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरू बारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा बिषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ ।
* निर्वाचनको मैदानलाई स्वस्थ र हार्दिक बनाउने कर्तब्य मुलतः दलहरूकै हो, यसमा अन्य सबै दललाई घच्घच्याउने भूमिका समेत कांग्रेसले निर्वाह गर्नुछ र गर्नेछ ।

१३) घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति दिनबाट हाम्रा उम्मेदवार र प्रचारक टाढा रहनेछन्  िसामान्य र स्वस्थ प्रकृतिको व्यङ्ग्य निर्वाचन मैदानमा स्वभाविक हुन्छ, तर हाम्रो सार्वजनिक प्रस्तुति सम्पूर्णतः संयमित र परिपक्व
रहनेछ ।

१४) बदलिएको समयको अपेक्षा र बदलिएको कांग्रेसको संकल्प  अनुरुप निर्वाचनको मैदानमा हाम्रा उम्मेदवार र प्रचारकहरूले नवयुवाका मुद्दा, भावना, सोच र सपनालाई आत्मसात गर्नेछन् र ‘युवाका बदलिएका सपनाको सम्बोधन, बदलिएको कांग्रेसको नेतृत्वमा’ भन्ने संकल्प र प्रतिबद्धता व्यक्त गर्नेछन् ।

 १५) चुनाव प्रचार क्रममा असल सांस्कृतिक परम्पराहरूप्रति मर्यादा राख्न उम्मेदवार र प्रचारक प्रतिबद्ध रहनेछन् ।
* कसैको पनि धार्मिक आस्थालाई चोट पुग्ने शब्द प्रयोग या ब्यवहार प्रस्तुत विल्कुलै नगर्न र सबै विविधतालाई सम्मान गर्न उम्मेदवार र प्रचारकहरू संवेदनशील रहनेछन् र सजगता राख्ने छन् ।

१६) स्वतन्त्र प्रेसको सम्मान र मिडिया मैत्री व्यवहार नेपाली कांग्रेसको आधारभूत मान्यता हो ।
* हाम्रा उम्मेदवार एवं सबै तहको प्रचार समिति संयोजकले निर्वाचन मैदानमा प्रेसका प्रश्न, सुझाव र आलोचनालाई सहज आत्मसात गर्नेछन् ।
* कुनै भ्रमपूर्ण समाचार प्रकाशित भए÷गरिए त्यसलाई स्थापित विधि बमोजिम खण्डन या सम्बन्धित निकायमा ध्यानाकर्षण गर्नेछन् ।

१७) चुनावी अभियान ‘फिजिकल’ कम ‘डिजिटल’ बढी हुँदै गएको स्थिति अनुरुप सामाजिक सञ्जालको प्रयोगमा पार्टीका सबै सदस्य जागरुक ढंगले सहभागी हुनेछन् ।
* स्थानीय रूपमा जिम्मेवार टिम मार्फत निर्माण हुने सामग्री प्रयोग गर्नुसँगै, व्यक्तिगत रुपले कुनै प्रचार सामग्री बनाउँदा सम्पूर्णतः मर्यादित सामग्री बनाउनु पर्नेछ÷ बनाउनेछन् ।
* निर्वाचन क्षेत्रमा रहेकोे अनुगमन समितिले आफ्नो क्षेत्रभित्र तथा केन्द्रमा रहेको सामाजिक सञ्जाल अनुगमन समितिले देशव्यापी रूपमा प्रचार सामग्री गुणस्तरको अनुगमन गर्नेछन्÷आवश्यक ठहर्दा परिमार्जनका लागि निर्देशन गर्नेछन् ।

१८) नेपाली कांग्रेस माथि लाग्ने÷लगाइने आरोपहरूलाई तथ्यपूर्ण ढंगले संयम र सहजसँग प्रचार सामग्री र प्रचार सभाहरू मार्फत दृढता साथ स्पष्ट गर्ने कार्य चुनाव प्रचारकहरूले गर्नेछन् ।

१९) पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित साथीहरूले आचारसंहिता उल्लंघन नहुने हदसम्म पार्टी र उम्मेदवारसँग समन्वय गरेर विजय अभियानलाई सघाउने छन् ।

२०) विगतमा विभिन्न कारणवश पार्टी छोडेर गएका साथीहरू पार्टीमा फर्किने क्रम देशव्यापी रुपमा शुरू भएको यथार्थ दृष्टिगत गरेर कुनै पूर्वाग्रह नराखी पार्टीमा भित्र्याउने र उहाँहरूलाई आ–आफ्नो प्रभाव एरियामा सकृय हुन आग्रह गर्ने ।

२१) ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदिय जिम्मेवारी जहाँ÷उसले खट्ने त्यहाँ’ नीति अन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ ।
* केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत्तत् स्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला÷क्षेत्र÷पालिका र वडामा केन्द्रित रहनु हुनेछ ।
* तोकिएको जिम्मेवारी लिएर अन्यत्र जानु भएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनु हुनेछ ।
* एउटा वडाका साथीहरू सदस्य अर्को वडामा नगएर ‘हाम्रो वडा हामी जिताउँछौ’ उद्घोष साथ आ–आफ्नै वडामा खट्नु हुनेछ ।

२२) पार्टीका कृयाशिल सदस्यहरूले ५÷५० को रणनीति अनुरूप चुनावी अभियानमा कार्य गर्नुहुनेछ । अर्थात् आफ्नो भूगोलको ५० घरपरिवारसँग टिम बनाएर ५ कृयाशिल सदस्य निरन्तर सम्पर्कमा रहनु हुनेछ । स्थानीय वडा टोलमा पछिल्लो समय सकृयतापूर्वक अघि आउनु भएका साथीहरू समेतको सहभागिता रहने त्यस्तो टिमले जिम्मेवारीको ५० घरमा प्रचार सामग्री पु¥याउने र मतका लागि प्रेरित गर्ने कार्य गर्नेछ ।

२३) ‘मतदाता शिक्षा’ को दायित्व सरकारको मात्रै होइन, दलहरूको पनि हो भन्ने यथार्थ मनन गर्दै पार्टीको स्थानीय तहका साथीहरू प्रचार–प्रसार सँगसँगै मतदाता शिक्षाको कार्यमा जिम्मेवारी बाँडफाँड गरेर समर्पित ढंगले लाग्नु हुनेछ ।

२४) भ्रातृ÷शुभेच्छुक र जिल्ला सम्पर्क समितिले निर्देशिकाको भाव अनुरुपका कार्यसम्पादन आ–आफ्नो संस्थाको जिम्मेवारी क्षेत्रमा गर्ने÷गराउने छन् । आ–आफ्नो संगठनको वडा तहसम्म रहेका पदाधिकारी र सदस्यलाई मुलत ‘डिजिटल मुभ’ मा प्रेरित गर्नेछन् । ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानमा जिल्ला सम्पर्क समिति केन्द्रित हुनेछन् ।

२५) विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुले समग्रमा नेपाल भरिका लागि तथा आफू व्यक्तिगत रूपले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका लागि समन्वय र प्रचारको कार्य गरिरहँदा बिदेशमा रहेका बढिभन्दा बढी नेपालीको सम्पर्कमा पुग्नेछन् ।

२६) मानव बेचबिखन, जातीय विभेद, बालश्रम, घरेलु हिंसा, लागू औषध दुब्र्यसन लगायतका अनेक सामाजिक विसंगतिको अन्त्य गर्ने संकल्प हामीले गर्नुछ । चुनावी अभियानका क्रममा हाम्रा उम्मेदवार र प्रचारकहरूले यो बिषयलाई सर्वपक्षीय दायित्वका रूपमा सम्प्रेषण गर्नेछन् र सोही बमोजिमको उत्प्रेरणा भर्न कृतसंकल्पित रहनेछन् । प्रचार अभियानमा कहिँ पनि बालबालिका प्रयोग कानून र संस्कार दुवैको विपरीत हुन्छ । यस्तो हुन नदिन पार्टीका सबै तह सजग र संवेदनशील रहनेछन् ।

२७) ‘श्रमिक र कृषकको सम्मान, अन्ततः सबैको सम्मान’ भन्ने भावका साथ मत जित्नुअघि मन जित्ने अठोटमा हाम्रा प्रचार अभियानहरु संवेदनशील रहनेछन् ।

२८) आगामी संसदबाट विद्यमान संविधानमा आवश्यक संशोधन गरेर यसलाई अझ समयानुकूल र अझ बलियो बनाउन नेपाली कांग्रेस प्रतिबद्ध छ । निर्वाचनको मैदानमा हाम्रा उम्मेदवार र प्रचारकहरूले यस बारे नागरिक अभिमत गहन आत्मसात
गर्नेछन् ।

२९) प्रचार अभियान अघि बढाउन जरूरी आर्थिक व्यवस्थापन गरिरहँदा स्वतःस्फूर्त सहयोगलाई स्वीकार गर्ने तर कुनै पनि ठूला साना व्यवसायीलाई देशभर कहिँ पनि दबाब नदिने । ‘साझा दायित्व÷साझा स्वामित्व’ बोधका साथ पार्टीका सदस्यहरूको सहभागितामा सहकार्यको निश्चित कोष क्षेत्रमा खडा गरेर चुनावी अभियानलाई भरथेग गर्ने, फजुल खर्च नगर्ने र चुनाव सकिएको १५ दिनभित्र निर्वाचन आयोगलाई खर्च विवरण उपलब्ध गराउने ।

३०) पूर्व शिक्षक, पुर्व सैनिक, पूर्व प्रहरी, पूर्व कर्मचारी लगायत अवकाश प्राप्त सबैको पछिल्लो जीवनलाई उर्जाशिल बनाएर समाजका लागि सहि उपयोगमा ल्याउन जरुरी छ । निर्वाचन प्रचार अभियानका क्रममा देशव्यापी रूपमा यो नेटवर्कलाई व्यापक सम्पर्कमा ल्याउन, जिम्मेवारीमा समेट्न र पार्टीको विजय अभियानमा सकृय बनाउन हरेक निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरूले निश्चित संयन्त्र बनाएर कार्य गर्नेछन् ।

३१) केही बर्ष बिदेशमा बिताएर गाउँ फर्किएका हजारौं नेपाली युवा गाउँहरूमा छन् । अध्ययन, काम या व्यवसायबाट फर्किएकाहरूको गाउँ समाजमा आ–आफ्नै ढंगको सम्पर्क र प्रभाव छ । विगतमा पार्टीले निर्माण गरेको पूर्व आप्रवासी विभाग मार्फतको कार्ययोजना बमोजिम पार्टीका स्थानीय नेटवर्क सम्पर्क, समन्वय र परिचालनमा पुग्नेछ, पुग्नुपर्नेछ ।

३२) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरेको  ‘सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका’ लाई कार्यान्वयन गरेर  पार्टीका कार्यक्रमहरू व्यवस्थित गर्न गराउन पार्टीका सबै तहले भूमिका निर्वाह गर्नेछन् ।

३३) विजयी अभियान अघि बढाइरहँदा हरेक निर्वाचन क्षेत्रमा पेशागत क्षेत्र र बुद्धिजीवीहरूको ‘फिड ब्याक’ हाम्रा स्थानीय समिति र उम्मेदवारहरूले निरन्तर लिनेछन् । प्राप्त सुझावहरूका आधारमा विजय अभियानलाई आवश्यक परिमार्जन र थप व्यवस्थित बनाउने छन् ।

३४) यो निर्देशिका कार्यान्वयन गर्ने गराउने दायित्व पार्टीका सबै उम्मेदवार, केन्द्रदेखि वडा टोल तहसम्मका कार्यसमिति पदाधिकारी र सबै सदस्यको हुनेछ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार